पीएम कप: अर्निको यादवको नायकत्वमा मधेश प्रदेश ५ विकेटले वीजयी
वीरगञ्ज, ११ चैत्र – आनन्द पटेल। प्रधानमन्त्री कप (पीएम कप) मेन्स नेशनल क्रिकेट प्रतियोगितामा मधेश प्रदेशले उत्कृष्ट प्रदर्शन गर्दै सुदूरपश्चिम प्रदेशलाई ५ विकेटले पराजित गरेको छ। वीरगञ्जस्थित टीबी साह क्रिकेट रंगशालामा सम्पन्न यस खेलमा मधेशले समूह चरणमा आफ्नो दाबी थप मजबुत बनाएको छ।
पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ४३.२ ओभरमा १६० रनमै सबै विकेट गुमायो। टोलीका लागि अभिषेक पलले ३३ रन, नारायण जोसीले २३ रन र किरणले २३ रन बनाउँदै सम्मानजनक स्कोरमा योगदान दिए। मधेश प्रदेशका बलर अर्निको प्रसाद यादवले ७.२ ओभरमा ३ विकेट लिएर विपक्षीलाई दबाबमा राखे।

१६१ रनको लक्ष्य पछ्याएको मधेश प्रदेशले संयमित र योजनाबद्ध ब्याटिङ गर्दै ३३.४ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पूरा गर्यो। अर्निको प्रसाद यादवले अविजित ४६ रनको महत्वपूर्ण पारी खेल्दै टोलीलाई जित दिलाए। बलिङमा पनि उनले ३ विकेट लिएर ‘म्यान अफ द म्याच’को उपाधि जिते।
त्यस्तै, मुहम्मद आदिलले ३४ रन र पवन सराफले २१ रन बनाउँदै जीतलाई सहज बनाएका थिए। रंगशालामा उपस्थित दर्शकहरूले खेलाडीहरूको उत्कृष्ट प्रदर्शनको भरपुर आनन्द लिएका थिए। मधेश प्रदेशको यो जीतसँगै टोलीको आत्मविश्वास बढेको छ र आगामी खेलहरूका लागि थप ऊर्जा प्राप्त भएको देखिन्छ।