पोखरिया नगरपालिकामा नमुना युवा नगर सभा सम्पन्न

53

वीरगंज, २१ जेठ ।

पर्साको पोखरिया नगरपालिकामा नमुना युवा नगर सभा सम्पन्न भएको छ । युवालाई सशक्तीकरण गर्ने र संसदीय ज्ञानका बारेमा जानकारी दिने अभिप्रायले खेलकुद तथा समाज कल्याण मन्त्रालय मधेश प्रदेशको सहयोगमा प्रदेश युवा सञ्जाल मधेश प्रदेशले पोखरिया नगरपालिकासँगको समन्वयमा कार्यक्रमको आयोजना गरेको छ ।

प्रदेश युवा सञ्जालका अध्यक्ष मोहम्मद नइम राइनको अध्यक्षतामा बुधवार सहभागीहरुलाई प्रमाण पत्र प्रदान गरी तीन दिने नमुना स्थानीय तह युवा संसद अभ्यासको समापन गरिएको हो । समापन समारोहलाई सम्बोधन गर्दै पोखरिया नगरपालिकाका प्रमुख प्रदुमन प्रसाद चौहानले युवा देशका भविष्य भएको बताउनुभयो । युवा सक्षम भएपछि मात्रै देश समृद्ध हुने प्रमुख चौहानको भनाई छ । पोखरिया नगरपालिका युवाको हकहित र वृद्धि विकासका लागि सदैव तयार रहेको बताउँदै उहाँले आवश्यक्ताअनुसारका प्रस्तावना ल्याउन पनि आग्रह गर्नुभयो ।

कार्यक्रममा पोखरिया नगरपालिकाकी उपप्रमुुख रुबी कु्मारी ठाकुरले नमुना युवा संसदस्य अभ्यासले युवाको क्षमता अभिवृद्धि र नेतृत्व विकास हुने विश्वास व्यक्त गर्नुभयो । पोखरिया नगरपालिकाकी पूर्व उपप्रमुख सलमा खातुनले परिवर्तनका संवाहक युवाले नै जनप्रतिनीधिलाई जवाफदेही बनाउने बताउनुभयो ।

साथै हकअधिकार र कानुनी तथा संसदीय प्रक्रियाका बारेमा जानकार भएपछि मात्रै त्यसमा प्रश्न र गुनासो राख्न सहज हुने उहाँको भनाई छ । कार्यक्रममा चलचित्र पत्रकार संघ नेपाल पर्साका अध्यक्ष सूर्यनारायण वि.क.ले पनि संसदीय अभ्यासमा सिकेका सीपलाई व्यवहारमा पनि लागू गर्न आग्रह गर्नुभयो । कार्यक्रममा प्रदेश युवा सञ्जाल मधेश प्रदेशका अध्यक्ष मोहम्मद नइम राइन र रामरतनले सहभागीहरुलाई प्रशिक्षण दिनुभएको थियो ।

Leave A Reply

Your email address will not be published.