प्याब्सन वीरगञ्जको छात्रवृत्ति कार्यक्रमको अन्तिम तयारी पूरा, करिब पाँच सय विद्यार्थीले दिए आवेदन
वीरगञ्ज, साउन ७ आनन्द पटेल-
निजी तथा आवासीय विद्यालय सङ्गठन नेपाल (प्याब्सन) वीरगञ्जले कक्षा ११ र १२ अध्ययनका लागि SEE दिएका विद्यार्थीहरूलाई लक्षित गर्दै घोषणा गरेको छात्रवृत्ति कार्यक्रमको अन्तिम तयारी पूरा भएको छ।
प्याब्सन महानगर कमिटी र जिल्ला कार्यसमितिको समन्वयमा सञ्चालन हुने यस कार्यक्रमको परीक्षामा सहभागी हुन हालसम्म ४५० जना विद्यार्थीले आवेदन दिइसकेका छन्। प्याब्सन नगर अध्यक्ष राहुल श्रीवास्तवका अनुसार यो संख्या साउन ८ गते बिहान १० बजेसम्म ५०० भन्दा बढी पुग्ने अपेक्षा गरिएको छ।
छात्रवृत्तिका लागि काठमाडौंदेखि वीरगञ्जसम्मका विभिन्न स्थानका विद्यार्थीहरूले आवेदन दिएका छन्। गरिब, विपन्न, जेहेन्दार तथा सामुदायिक विद्यालयका विद्यार्थीहरूको समेत उल्लेख्य सहभागिता रहेको नगर अध्यक्ष श्रीवास्तवले जानकारी दिए।
परीक्षा साउन १० गते हुने भएको छ। प्रवेश पत्र प्याब्सन परीक्षा समिति सदस्य विजय बलसँग सम्पर्क गरी पानीटंकी १० मा रहेको लिटिल बडी प्रि-स्कुल बाट लिन सकिनेछ। कुनै विद्यार्थीको प्रवेश पत्र छुटेमा परीक्षा केन्द्र रहने १० वटा कलेजबाट पनि उपलब्ध गराइने सचिव अमित आलोकले जानकारी दिए।
उनले थपे, “छोटो समयमै सन्तोषजनक विद्यार्थीको सहभागिता देखिएको छ। आगामी वर्ष यो कार्यक्रमलाई अझ व्यवस्थित र व्यापक बनाउने योजना छ।”
परीक्षामा अंग्रेजी, नेपाली, गणित, र विज्ञान विषयहरूबाट प्रश्नहरू सोधिनेछ। कक्षा १० को पाठ्यक्रमलाई केन्द्रमा राखेर प्रश्न तयार पारिएको परीक्षा समिति सदस्य सुमित कुमार गुप्ताले बताए।
पत्रकार भेटघाट कार्यक्रममा प्याब्सन जिल्ला कार्यसमिति सदस्य शुलभ केसी, नगर अध्यक्ष राहुल श्रीवास्तव, सचिव अमित आलोक, परीक्षा समिति सदस्य विजय बल, सुमित कुमार गुप्ता, प्रेस संयोजक दिपु बर्णवाल तथा नेपाल इनोभेटिभ सोसाइटी पर्साका अध्यक्ष कमल चौगाइको उपस्थिति थियो।