प्रेस स्वतन्त्रताको माग गर्दै पर्साका पत्रकारको धर्ना, ‘सामूहिक गिरफ्तार गर’ भन्दै प्रदर्शन

34

वीरगञ्ज, ९ मंसिर । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र नेपाल पत्रकार महासंघले अघि सारेका माग सम्बोधन गर्न सरकारलाई दबाब दिने उद्देश्यले पर्साका पत्रकारहरूले बुधबार जिल्ला प्रशासन कार्यालय पर्साको परिसरमा धर्ना सहित प्रदर्शन गरेका छन्।

नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यक्रमअन्तर्गत महासंघ पर्सा शाखाको अगुवाइमा भएको प्रदर्शनमा पत्रकारहरूले ‘सामूहिक गिरफ्तार गर’ लेखिएको ब्यानर प्रदर्शन गरेका थिए। महासंघले घोषणा गरेको आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिँदै पत्रकारहरूले सरकारको मिडियाप्रतिको व्यवहारप्रति विरोध जनाएका हुन्।

प्रदर्शनका क्रममा नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष ओमप्रकाश खनालले केन्द्रले अघि सारेका माग सम्बोधन तथा प्रेस र अभिव्यक्ति स्वतन्त्रताको संरक्षणमा सरकारको भूमिकाप्रति असन्तुष्टि जनाउँदै आन्दोलनमा उत्रिनुपरेको बताए।

त्यसैगरी महासंघ पर्साका सदस्य राहुल गुप्ताले पत्रकारिता क्षेत्रको स्वतन्त्रता, पेसागत सुरक्षा तथा सञ्चारकर्मीहरूको अधिकारका पक्षमा महासंघले निरन्तर आवाज उठाउँदै आएको बताए। सरकारको मिडियाप्रतिको व्यवहारप्रति असन्तुष्टि जनाउँदै सुरु गरिएको आन्दोलनलाई सशक्त बनाउन पर्साका पत्रकारहरू एकजुट भएर प्रदर्शनमा सहभागी भएको उनको भनाइ थियो।

कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्सा शाखाका कार्यसमिति पदाधिकारी, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सचिव दीपेन्द्र चौहान तथा विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरूको सहभागिता रहेको थियो।

महासंघले अघि सारेका माग सम्बोधन गर्न सरकारलाई दबाब दिने उद्देश्यले देशभरका शाखामार्फत आन्दोलनका कार्यक्रम सञ्चालन गर्दै आएको छ।

Leave A Reply

Your email address will not be published.