स्थानीय सरकारको बेवास्ताबीच अधुरो मन्दिर पुनर्निर्माणमा जुटे कृष्णा पटेल

51

वीरगञ्ज । पर्साको पकाहामैनपुर गाउँपालिका–२ मानिकपुरमा लामो समयदेखि अधुरो अवस्थामा रहेको हनुमान मन्दिरको पुनर्निर्माण कार्य सुरु भएको छ। गाउँपालिका अध्यक्ष पदका प्रत्याशी कृष्णा पटेलले बुधबार मन्दिर पुनर्निर्माणका लागि शिलान्यास गरेका छन्।

पटेलका अनुसार छठ पर्वका अवसरमा स्थानीयवासीले प्लास्टिकको छानोमुनि रहेको बजरंगबली मन्दिरको अवस्था देखाउँदै पुनर्निर्माण गरिदिन आग्रह गरेका थिए। स्थानीयको आग्रहलाई स्वीकार गर्दै उनले मन्दिर निर्माणको सम्पूर्ण खर्च व्यक्तिगत रूपमा व्यहोर्ने प्रतिबद्धतासहित काम अघि बढाएका हुन्।

‘छठको दिन गाउँका स्थानीयवासीले मन्दिरको अवस्था देखाउँदै पुनर्निर्माण गरिदिन आग्रह गर्नुभयो। उहाँहरूको आग्रहपछि मिस्त्रीसँग निर्माण लागत बुझेर काम अघि बढाउने निर्णय गरेको हुँ,’ पटेलले भने, ‘मन्दिर निर्माणमा लाग्ने सम्पूर्ण खर्च व्यक्तिगत रूपमा म आफैँले व्यहोर्नेछु।’

उनका अनुसार मन्दिर निर्माण कार्य दुई चरणमा सम्पन्न गरिनेछ। पहिलो चरणमा बिम ढलान, पर्खाल निर्माण तथा जस्तापाताको छानो लगाउने काम गरिनेछ। पहिलो चरणको निर्माण कार्य एक साताभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको उनले बताए।

त्यसैगरी दोस्रो चरणमा मन्दिरमा गुम्बज निर्माण, प्लास्टर तथा मार्बल लगाउने काम गरिनेछ। पहिलो चरणको काम सम्पन्न भएपछि स्थानीयवासीसँग आवश्यक समन्वय गरी दोस्रो चरणको निर्माण अघि बढाइने पटेलको भनाइ छ।

लामो समयदेखि जग निर्माण गरेर अधुरै छाडिएको मन्दिर स्थानीयवासीको आग्रहपछि पुनर्निर्माण गर्न थालिएको हो। धार्मिक आस्थासँग जोडिएको मन्दिरलाई पूर्णता दिने उद्देश्यले व्यक्तिगत लगानीमा निर्माण कार्य सुरु गरिएको पटेलले बताए।

Leave A Reply

Your email address will not be published.