बारा–४ मा सन्जु साहको लहर, दिनदिनै जनताको मन जित्दै अभियान सशक्त

75

माघ २८,आनन्द पटेल बारा – जनता समाजवादी पार्टी (जसपा) नेपालका बारा निर्वाचन क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार सन्जु साहको चुनावी अभियान दिनप्रतिदिन प्रभावकारी बन्दै गएको छ। परवानीपुर गाउँपालिका–१ बुनियाददेखि क्षेत्रका विभिन्न गाउँ–टोलमा जारी घरदैलो, कोणसभा र भेटघाट कार्यक्रममा उत्साहजनक जनसहभागिता देखिएको छ। स्थानीयवासीको बढ्दो समर्थनसँगै बारा–४ मा सन्जु साहको पक्षमा माहोल बन्दै गएको दाबी गरिएको छ।

हालै परवानीपुर–१ बुनियादमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै मधेश प्रदेशका पूर्व मुख्यमन्त्री माननीय जितेन्द्र सोनलले सन्जु साहलाई इमानदार, सक्रिय र जनतासँग प्रत्यक्ष जोडिएका उम्मेदवारका रूपमा प्रस्तुत गरे। उनले भने, “बारा–४ मा विकासको नयाँ अध्याय सुरु गर्न सक्षम नेतृत्व आवश्यक छ। सन्जु साहले जनताको विश्वास जित्दै अघि बढ्नुभएको छ, अब त्यो विश्वासलाई मतमा रूपान्तरण गर्नुपर्ने बेला आएको छ।”

उम्मेदवार सन्जु साहले आफू निर्वाचन जित्नका लागि मात्र नभई क्षेत्रको दीर्घकालीन विकासका लागि मैदानमा उत्रिएको बताए। उनले शिक्षा, स्वास्थ्य, कृषि, सिँचाइ, सडक पूर्वाधार र युवाका लागि रोजगारी सिर्जना आफ्ना प्रमुख एजेन्डा रहेको उल्लेख गरे। “म दिनदिनै जनताको घरदैलोमा पुगेर उहाँहरूको समस्या सुन्दैछु। जनताको माया र साथले मलाई थप ऊर्जा दिएको छ,” उनले भने, “बारा–४ को समृद्धिका लागि चुनाव चिन्ह ‘छाता’मा मतदान गर्न आग्रह गर्दछु।”

कार्यक्रममा अधिवक्ता रामचन्द्र सिंहले कानुनी राज्य र पारदर्शी शासनका लागि सक्षम प्रतिनिधि आवश्यक रहेको बताए। जसपा नेता जगत नारायण महतो, पूर्व वडाध्यक्ष मिश्री महतो, आनन्द गुप्ता, महिला नेतृ रिता पटेल तथा रामेश्वर साहलगायतका वक्ताहरूले सन्जु साहको उम्मेदवारी बारा–४ का लागि उपयुक्त विकल्प भएको धारणा राखे। उनीहरूले विगतमा अधुरा रहेका विकास योजनालाई पूर्णता दिन र नयाँ सम्भावनाको ढोका खोल्न जसपा नेपाललाई विजयी गराउनुपर्ने बताए।

स्थानीय बासिन्दाले पनि खानेपानी, सडक मर्मत, कृषि उत्पादनको बजारीकरण, महिला सशक्तीकरण र युवालाई स्वरोजगारसँग जोड्ने कार्यक्रम ल्याउनुपर्ने माग राखेका छन्। सन्जु साहले यी विषयलाई प्राथमिकतामा राखेर योजनाबद्ध ढंगले काम गर्ने प्रतिबद्धता जनाएका छन्।

जसपा नेपालका अनुसार निरन्तर जनसम्पर्क र घरदैलो अभियानमार्फत सन्जु साह दिनदिनै जनताको मन जित्दै अघि बढिरहेका छन्। पार्टीले फागुन २१ गते हुने निर्वाचनमा चुनाव चिन्ह ‘छाता’मा मतदान गरी सन्जु साहलाई विजयी गराउन सबै मतदातासँग आग्रह गरेको छ।

Leave A Reply

Your email address will not be published.