बिरगंजमा अव्यवस्थित बेकरी उद्योगमाथि कारबाही, व्यवसाय नवीकरणका लागि ७ दिनको समय

65

मंसिर १५ वीरगन्ज

बिरगंज महानगरपालिकाका उपमेयर ईम्तियाज आलमको संयोजकत्वमा आज संयुक्त बजार अनुगमन टोलीले बिरगंजका विभिन्न पाउरोटी तथा बेकरी उद्योगहरूमा अनुगमन गरेको छ। अनुगमन टोलीले पानीटन्की–८ स्थित शत्तिमान बेकरी एण्ड फुड प्रोडक्ट्स, श्रीपुर–११ रानिघाटस्थित शिला बेकरी उद्योग, तथा त्यसै स्थानमा रहेको लक्की पाउरोटी उद्योग मा पुगेका थिए।

अनुगमनका क्रममा सफाइको अभाव, मूल्य सूची नटाँगिएको, व्यवसाय दर्ता प्रमाणपत्र नदेखिएको, साथै म्याद गुज्रिएका पाउरोटी, पप, डोनट, बम पाउरोटी, सानो केक, बर्फी लगायतका सामग्री भेटिएको कारण ती खाद्य सामग्री जफत गरी नष्ट गरिएको टोलीले जनाएको छ।

त्यसैगरी, केही उद्योगहरूले बिरगंज महानगरपालिकाबाट व्यवसाय दर्ता नगरेको तथा केहीको दर्ता नवीकरण नभएको पाइएकाले ७ दिनभित्र महानगरपालिकाको कार्यालयमा उपस्थित भई आवश्यक प्रक्रिया पूरा गर्न निर्देशन दिइएको छ।

अनुगमन टोलीमा उपभोक्ता हित संरक्षण मञ्च नेपालका अजित भुजेल, बिरगंज महानगरपालिकाका खाद्य अनुसन्धान अधिकृत बिभा मिश्रा, नेहा मिश्रा, सञ्जय महतो, मनोज कुमार दासलगायतको सहभागिता रहेको थियो।

Leave A Reply

Your email address will not be published.