बीरगंजमा यात्रु प्रतिक्षालय तोडफोड, यात्रु सुरक्षामा जोखिम

71

बीरगंज । बीरगंज महानगरपालिका वडा नम्बर १३ स्थित पावरहाउस बस बिसौनी स्थलमा निर्माण गरिएको यात्रु प्रतिक्षालय अज्ञात व्यक्तिहरूले तोडफोड गरेका छन्। यस घटनाले यात्रुहरूको सुरक्षामा उच्च जोखिम सिर्जना गरेको छ।

सनराइज बैंकको सहयोगमा यात्रुहरूलाई बस पर्खँदा आराम मिलोस् भन्ने उद्देश्यले निर्माण गरिएको उक्त प्रतिक्षालय केही स्थानीय व्यक्तिहरूले तोडफोड गरेको स्थानीयवासीहरूले बताएका छन्।

प्रत्यक्षदर्शीका अनुसार प्रतिक्षालयका चारवटा फलामका खुट्टा काटेर हटाइएको छ, जसका कारण संरचना अस्थिर र दुर्घटनाप्रवण बनेको छ। पावरहाउस चौकमा सधैंजसो यात्रुहरूको भीड रहने भएकाले उक्त प्रतिक्षालय यात्रुहरूको विश्राम र सुरक्षाका दृष्टिले अत्यन्त महत्वपूर्ण स्थान मानिन्छ।

तर, स्थानीय स्रोतका अनुसार नजिकैका केही होटल व्यवसायी र पसलेहरूले आफ्ना व्यापारमा असर परेको भन्दै प्रतिक्षालयको भुइँ भागका फलामका खुट्टा काटेर हटाएका हुन्।

स्थानीयवासीहरूले भने, “मानवीय सेवाका लागि निर्माण गरिएको संरचना व्यवसायिक स्वार्थका कारण तोड्नु अत्यन्त निन्दनीय कार्य हो। यसरी तोडफोड भइरहँदा महानगरपालिका मौन रहनु अझ दुखद् कुरा हो।”

प्रतिक्षालय अस्थिर बनेपछि यात्रुहरू बस पर्खने क्रममा कुनै पनि बेला दुर्घटनामा पर्न सक्ने अवस्था सिर्जना भएको छ। स्थानीयले यो घटनाप्रति कडा आपत्ति जनाउँदै बीरगंज महानगरपालिकाको तत्काल ध्यानाकर्षण गराएका छन्।

उनीहरूले चेतावनी दिएका छन्, “यदि भोलि कुनै अप्रिय घटना घटेमा यसको सम्पूर्ण जिम्मेवारी महानगरपालिकाकै हुनेछ।”

स्थानीयहरूले तोडफोडमा संलग्न व्यक्तिहरूको तत्काल पहिचान गरी कानूनी कारबाही गर्न र सो प्रतिक्षालय पुनःनिर्माण गरेर यात्रुहरूको सुरक्षा सुनिश्चित गर्न सम्बन्धित निकायसँग माग गरेका छन्। उनीहरूको गुनासो छ — “व्यक्तिगत फाइदा लिन खोज्ने उद्देश्यले प्रतिक्षालय तोडफोड गर्नु यात्रुको अधिकारमाथिको अन्याय हो।”

Leave A Reply

Your email address will not be published.