बृजेश्वर प्रसाद चौधरीको पहलमा ग्रामीण क्षेत्रमा निःशुल्क आँखा सेवा, ६९ जनाको निःशुल्क शल्यक्रिया हुनेc

35

वीरगञ्ज, ७ असोज ।

पर्साको जगन्नाथपुर गाउँपालिका–४ मा आयोजित निःशुल्क आँखा शिविरबाट २६३ जना लाभान्वित भएका छन्। तिलगंगा हेटौँडा सामुदायिक आँखा अस्पतालको आयोजना तथा दाइजो एवं सामाजिक कुरीति विरुद्ध जागरण मञ्चको सहकार्यमा ब्रिलियन्ट मोडल इङ्लिस बोर्डिङ स्कुलको प्राङ्गणमा शिविर सञ्चालन गरिएको हो।

दाइजो एवं सामाजिक कुरीति विरुद्ध जागरण मञ्चका अध्यक्ष बृजेश्वर प्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न शिविरमा स्थानीय सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। शिविरमा २६३ जनाको आँखा परीक्षण तथा स्वास्थ्य जाँच गरिएको आयोजकले जनाएको छ।

परीक्षणका क्रममा ६९ जनामा मोतियाबिन्दुको समस्या पहिचान भएको छ। त्यस्तै, आवश्यकताअनुसार ५३ जनालाई औषधि तथा आँखामा प्रयोग गर्ने ड्रप निःशुल्क उपलब्ध गराइएको थियो।

मोतियाबिन्दु पहिचान भएका ६९ जनालाई थप उपचार तथा शल्यक्रियाका लागि हेटौँडा लैजाने व्यवस्था गरिएको आयोजकले जनाएको छ। उनीहरूलाई असोज ७ गते बुधबार आयोजकको आफ्नै सवारीसाधनमार्फत हेटौँडा आँखा अस्पताल लगिने र त्यहाँ पूर्ण रूपमा निःशुल्क शल्यक्रिया गरिने जनाइएको छ। शल्यक्रियापछि असोज ९ गते शुक्रबार बिहान बिरामीहरूलाई पुनः आफ्नै सवारीसाधनमार्फत घर फर्काउने व्यवस्था मिलाइएको छ।

शिविरमा तिलगंगा हेटौँडा सामुदायिक आँखा अस्पतालका नेत्र अधिकृत रमा महत, नेत्र सहायक तारकेश्वर चौधरी तथा कम्प्युटर अपरेटर आरुस स्याङ्ताङको टोलीले आँखा परीक्षण तथा स्वास्थ्यसम्बन्धी सेवा प्रदान गरेको थियो।

कार्यक्रममा ब्रिलियेन्ट मोडल इङ्लिस बोर्डिङ स्कुलका सञ्चालक अब्दुल कयूम, मुकेश राम, ठाकुर प्रसाद चौधरी, डा. प्रद्युम्न चौधरीलगायत स्थानीयवासीको उपस्थिति रहेको थियो।

ग्रामीण तथा विपन्न समुदायका नागरिकलाई आँखा रोगको समयमै पहिचान र उपचारको पहुँचमा ल्याउने उद्देश्यले आयोजित शिविरबाट स्थानीय नागरिक प्रत्यक्ष लाभान्वित भएको आयोजकले जनाएको छ।

Leave A Reply

Your email address will not be published.