मधेश प्रदेश अध्यक्ष श्याम बञ्जाराको नेतूत्वमा मुख्यमन्त्री र अर्थमन्त्रीलाई ज्ञापनपत्र : सञ्चार माध्यमलाई आर्थिक रूपमा सक्षम बनाउन माग

96

जनकपुरधाम । मधेश प्रदेशका सञ्चारकर्मीहरूको हकहित र समग्र पेसागत विकासका लागि नेपाल पत्रकार महासंघ, मधेश प्रदेश समितिले प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ।

महासंघले सोमबार प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह र अर्थ मन्त्री सुनील कुमार यादवलाई छुट्टाछुट्टै ज्ञापनपत्र बुझाएर पत्रकारहरूको दीर्घकालीन मागहरू सम्बोधन गर्न आग्रह गरेको छ। महासंघले बुझाएको ज्ञापनपत्रमा मधेश प्रदेशका पत्रकारहरूले भोग्नुपरेका चुनौती र उनीहरूको पेसागत सुरक्षाका लागि विभिन्न मागहरू समेटिएका छन्।

प्रदेशका विभिन्न जिल्लाबाट राजधानी जनकपुरधाम आउने पत्रकारहरूलाई आवास र कार्यसम्पादनमा देखिएको असहजतालाई सम्बोधन गर्न स्थायी भवन निर्माणको योजना अघि सारेको छ। महासंघले यसका लागि आवश्यक बजेट विनियोजन गर्न प्रदेश सरकार समक्ष माग गरेको छ।

महासंघका अनुसार, स्थायी भवनको अभावले गर्दा मोफसलबाट आउने पत्रकारहरूलाई जनकपुरधाममा बस्न र रिपोर्टिङ गर्न समस्या भइरहेको छ। यो समस्या समाधानका लागि गुठी संस्थानसँग जग्गा लिजमा लिने प्रक्रिया अन्तिम चरणमा पुगेको महासंघले जनाएको छ। जग्गा प्राप्तिको प्रक्रिया पूरा भएपछि तत्काल भवन निर्माण कार्य सुरु गर्नका लागि प्रदेश सरकारको सहयोग अपरिहार्य रहेको महासंघको भनाइ छ।

प्रदेश सरकारले पत्रकारहरूको पेसागत विकास र सुविधाका लागि भवन निर्माणमा बजेट विनियोजन गरेमा यसले मधेश प्रदेशका सञ्चारकर्मीहरूको मनोबल बढाउनुका साथै राजधानीमा उनीहरूको पहुँच अझ सहज बनाउने विश्वास गरिएको छ।

यसैगरी पत्रकारमाथि हुने भौतिक आक्रमण, धम्की र प्रेस स्वतन्त्रतामाथि हुने कुनै पनि किसिमको हस्तक्षेप रोक्न कडा कानुन र सुरक्षाको प्रत्याभूति गर्न, पत्रकारहरूको योग्यता, अनुभव र पेसागत मर्यादाका आधारमा उचित पारिश्रमिक र अन्य सुविधाहरूको व्यवस्था गर्न, प्रदेशभरका पत्रकारहरूको क्षमता विकासका लागि नियमित तालिम, कार्यशाला र अध्ययनका अवसरहरू उपलब्ध गराउन माग गरेको छ ।

यसैगरी सूचनाको हकलाई पूर्ण रूपमा कार्यान्वयन गरी पत्रकारहरूलाई सूचना प्राप्त गर्न सहज वातावरण बनाउने, प्रदेशका सञ्चार माध्यमहरूलाई आर्थिक रूपमा सक्षम बनाउन सरकारी विज्ञापनको समानुपातिक वितरण तथा अन्य सहुलियतहरू उपलब्ध गराउन र अप्ठ्यारोमा परेका पत्रकारहरूलाई सहयोग गर्न कल्याणकारी कोषको स्थापना र प्रभावकारी सञ्चालन गर्न लगायतका माग ज्ञापन पत्रमा समेटिएको छ ।

ज्ञापनपत्र बुझाउन मुख्यमन्त्री र अर्थमन्त्रीको कार्यकक्षमा पुगेको महासंघको टोलीमा नेपाल पत्रकार महासंघका केन्द्रिय लेखा आयोग संयोजक केसी लामिछाने, महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बञ्जारा, उपाध्यक्ष ज्योति झा, महासचिव शैलेन्द्र महतो ‘क्रान्ति’ लगायतका शीर्ष पदाधिकारीहरू सहभागी थिए।

महासंघले प्रदेश सरकारले यी मागहरूलाई गम्भीरता पूर्वक लिँदै आगामी बजेट तथा नीति तथा कार्यक्रममा समेट्ने विश्वास व्यक्त गरेको छ। प्रदेश सरकारले पत्रकारहरूको हितमा काम गरेमा यसले लोकतन्त्र र प्रेस स्वतन्त्रताको सुदृढीकरणमा महत्त्वपूर्ण योगदान पुग्ने सञ्चारकर्मीहरूको भनाइ छ।

Leave A Reply

Your email address will not be published.