मनकामना बोर्डिङ स्कुलले भव्य रूपमा मनायो २७ औँ वार्षिक उत्सव

60

बीरगञ्ज महानगरपालिका वडा नम्बर ५ मा अवस्थित मनकामना बोर्डिङ स्कुलले आज आफ्नो २७ औँ वार्षिक उत्सव भव्य समारोहको माध्यमबाट सम्पन्न गरेको छ। कार्यक्रममा विद्यालयका सञ्चालक एवं प्रिन्सिपल पुरन प्रधानको सभापतित्व तथा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याप्सन) बीरगञ्ज महानगरका अध्यक्ष राहुल श्रीवास्तवको प्रमुख आतिथ्य रहेको थियो।

उद्घाटनको अवसरमा प्रमुख अतिथि श्रीवास्तव, डाइरेक्टर पुरन प्रधान, सञ्चालिका संगीता प्रधान, सहायक प्रिन्सिपल सुनिल यादव, संगीता श्रेष्ठ लगायतले संयुक्त रूपमा केक काटेर समारोहको उद्घाटन गर्नुभयो। प्रमुख अतिथि श्रीवास्तवले विद्यार्थीहरूले सिकेका ज्ञान, सीप र संस्कारलाई व्यवहारमा उतार्न आवश्यक रहेको र यसले समाज तथा राष्ट्र निर्माणमा योगदान पुर्याउनेमा जोड दिनुभयो।

कार्यक्रममा झन भण्डाफोर दैनिकका कार्यकारी सम्पादक एवं जगत समाचारका सञ्चालक जगत राईले पनि विद्यार्थीहरूलाई सही संस्कार र संस्कृति अंगालेर आफ्नो भविष्य निर्माण गर्न सुझाव दिनुभयो। उनले कुलतबाट टाढा रहँदा समाजमा सम्मान र इज्जत प्राप्त हुने बताए।

कार्यक्रमका क्रममा विद्यालयका विद्यार्थीहरूले सांस्कृतिक नृत्य प्रदर्शन गरे भने उत्कृष्ट अंक ल्याएका विद्यार्थीहरूलाई मेडल र प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो। स्वागत मन्तव्य कक्षा ९ की रिभा श्रेष्ठ, सहजीकरण कक्षा ६ का विद्यार्थी एलिसा यादव र तुभा प्रवीनले गरे।

समापन समारोहमा प्रिन्सिपल पुरन प्रधानले विद्यार्थीहरूलाई सिकेका ज्ञान र सीपलाई व्यवहारमा उतारेर विद्यालयको नाम उचाइमा राख्न प्रेरित गर्नुभयो।

यस प्रकार मनकामना बोर्डिङ स्कुलले २७ वर्षको अविरल शिक्षण यात्रालाई उत्सवका माध्यमबाट मनाउँदै विद्यार्थीहरूलाई जीवनमा उत्कृष्टता र संस्कारमा आधारित शिक्षा प्रदान गर्न निरन्तर प्रतिबद्धता जनाएको छ।

Leave A Reply

Your email address will not be published.