माघ १ गते वीरगञ्जमा थारू सम्वत २६४९ भव्य रूपमा मनाईने
वीरगञ्ज : थारू समुदायले वीरगन्जमा यसबर्ष पनि थारू नयाँ वर्ष २६४९ भव्य रूपमा मनाउने भएको छ । माघी मूल समारोह समितिले आज थारू छात्रावासमा पत्रकार सम्मेलन गरेर कार्यक्रमको बारेमा जानकारी दिएको हो ।
कार्यक्रमको बारेमा जानकारी दिदै थारू कल्याणकारी सभाका केन्द्रीय पार्षद नन्दकिशोर पञ्जियारले हरेकबर्ष मनाउदै आएको थारू सम्वत २६४९ को माघी अर्थात खिच्चडी यसबर्षपनि भव्य रूपमा मनाउने तयारी गरिएको जानकारी दिए ।
लविगतमा जस्तै यसबर्षपनि माघ १ गते घण्टाघरबाट थारू समुदायको भेषभूषा तथा झाँकी सहितको र्याली नगरको मुख्य सडकबाट आदर्शनगर चोक हुँदै स्वीमिङ पुलमा पुगेर कार्यक्रमको आयोजना गरिने जानकारी पञ्जियारले दिए । उनले यसबर्ष माघीको अघिल्लो दिन पावरहाउसबाट मोटरसाईकल ९यालीको समेत आयोजना गर्ने भएको बताए ।
गतबर्ष आदर्शनगर स्थित पूरानो बसपार्कमा आयोजना गरिएको कार्यक्रम यसबर्ष पुनःपहिले गर्दै आएको स्वीमिङ पुलमा नै आयोजना गरिने आर्थिक व्यावस्थापन संयोजक परमानन्द चौधरीले बताए ।
परमानन्द चौधरीकै अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज मधेस प्रदेश इञ्चार्ज निरज पिठाकोटे मगर, प्रकाश थारू फाउण्डेशका प्रकाश थारू, किरात राई यायोक्खाका केन्द्रीय सदस्य जगत राई नेपाल पत्रका महासंघका सदस्य अजित कुमार भूजेल, थारू पत्रकार संघका शम्भु महतो थारू, थारू छात्रावासका अध्यक्ष शेखर चौधरी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण मेलमिलाप थारू परिवारका मनोज चौधरीले गरेका थिए ।