वीरगञ्ज, १८ जेठ आनन्द पटेल।
लायन्स क्लब अफ वीरगञ्ज क्युरेटिभको आयोजनामा वीरगञ्ज महानगरपालिका–पानीट्यांकीस्थित मिनिल्याण्ड स्कुलमा सोमबार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। विद्यार्थीहरूको स्वास्थ्य अवस्था पहिचान गर्दै स्वस्थ जीवनशैलीप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित शिविरमा ५०० भन्दा बढी विद्यार्थीहरूको स्वास्थ्य परीक्षण गरिएको आयोजकले जनाएको छ।
शिविरमा नेत्ररोग विशेषज्ञद्वारा आँखाको परीक्षण तथा परामर्श, दन्त चिकित्सकद्वारा दाँत परीक्षण र आवश्यक सुझाव तथा चिकित्सकद्वारा सामान्य स्वास्थ्य परीक्षण गरिएको थियो। स्वास्थ्य परीक्षणका क्रममा विद्यार्थीहरूलाई व्यक्तिगत सरसफाइ, सन्तुलित आहार, नियमित व्यायाम तथा रोगबाट बच्ने उपायबारे समेत जानकारी प्रदान गरिएको थियो।

बालबालिकाको शारीरिक तथा मानसिक विकासका लागि नियमित स्वास्थ्य परीक्षण आवश्यक रहने भएकाले यस्ता कार्यक्रमले रोगको प्रारम्भिक पहिचान र समयमै उपचारमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।
लायन्स क्लब अफ वीरगञ्ज क्युरेटिभका अध्यक्ष डा. निरज कुमार सिंहले विद्यालयस्तरमै स्वास्थ्य सेवा पुर्याएर विद्यार्थीहरूमा स्वास्थ्यप्रति जिम्मेवारी र सचेतना बढाउने उद्देश्यले शिविर सञ्चालन गरिएको बताए। उनले आगामी दिनमा पनि समुदायमुखी स्वास्थ्य तथा सामाजिक सेवाका कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिए।

विद्यालय प्रशासनले समेत शिविरलाई विद्यार्थीहरूको स्वास्थ्य सुरक्षाका लागि उपयोगी र प्रभावकारी कार्यक्रमका रूपमा लिँदै आयोजकप्रति आभार व्यक्त गरेको छ।