राज्य पक्षको माफीपछि पनि व्यवसायीमाथि निरन्तर आरोपप्रति असन्तुष्टि
जनकपुर, जेठ १६ । महोत्तरीको बर्दिबासमा रहेका होटल तथा पर्यटन व्यवसायीहरूले विभिन्न घटनालाई अतिरञ्जित रूपमा प्रस्तुत गरी पर्यटन व्यवसायीलाई अनावश्यक रूपमा विवादमा तान्ने प्रयास भइरहेको भन्दै आपत्ति जनाएका छन्।
व्यवसायीहरूले जेठ ११ गते वन कर्मचारीबाट भएको भनिएको अमर्यादित तथा अवैध व्यवहारका कारण उत्पन्न परिस्थितिमा राज्य पक्षले आफ्नो गल्ती स्वीकार गर्दै माफी मागिसकेको अवस्थामा समेत होटल व्यवसायीहरूलाई विभिन्न आरोप लगाएर दोषी देखाउने प्रयास भइरहेको बताएका हुन्।
बर्दिबासस्थित होटल गौतममा नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा संयोजक केसी लामिछाने, मधेश प्रदेश अध्यक्ष श्याम बन्जारा तथा सदस्य त्रिलोकी यादवसँग भएको छलफलमा व्यवसायीहरूले आफ्ना गुनासा राखेका थिए। कार्यक्रममा होटल तथा पर्यटन व्यवसायी संघ मधेश प्रदेशका अध्यक्ष हिरालाल गौतम, महोत्तरी जिल्ला अध्यक्ष गुञ्जबहादुर कार्कीलगायत प्रदेश तथा जिल्ला तहका पदाधिकारीहरूको सहभागिता रहेको थियो।
छलफलका क्रममा व्यवसायीहरूले घटनाको वास्तविकता नबुझी केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत व्यवसायीहरूलाई दोषी देखाउने खालका सन्देश प्रवाह भएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए।
यसैबीच, कालापानी घटनाको विषयमा विस्तृत छलफलपछि होटल तथा पर्यटन व्यवसायी संघले प्रेस विज्ञप्तिमार्फत आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छ। संघका महोत्तरी जिल्ला अध्यक्ष गुञ्जबहादुर कार्कीद्वारा हस्ताक्षरित विज्ञप्तिमा कालापानी आन्दोलनपछिको अवस्थालाई लिएर बर्दिबासस्थित पानस होटल र भण्डारी होटलका सञ्चालकमाथि केही सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ।
संघले तथ्य र प्रमाणबिना व्यवसायीमाथि लगाइएका आरोपले वास्तविकता ओझेलमा पार्ने तथा सर्वसाधारणमा भ्रम सिर्जना गर्ने खतरा रहेको जनाएको छ। साथै घटनासम्बन्धी समाचार सम्प्रेषण गर्दा तथ्यमा आधारित, सन्तुलित र निष्पक्ष पत्रकारिता गर्न सञ्चारमाध्यमलाई आग्रह गरेको छ।