उमेश श्रेष्ठले सम्हाले प्रेस काउन्सिल नेपालको नेतृत्व

54

काठमाडौं, असार ३०।

सरकारले प्रेस काउन्सिल नेपालको अध्यक्षमा उमेश श्रेष्ठलाई नियुक्त गरेको छ। मन्त्रिपरिषद्को असार २४ गतेको निर्णय अनुसार श्रेष्ठलाई अध्यक्षमा नियुक्त गरिएको हो।

नवनियुक्त अध्यक्ष श्रेष्ठले सोमबार सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाबाट नियुक्तिपत्र ग्रहण गरेका छन्।

नियुक्तिपत्र हस्तान्तरण कार्यक्रममा मन्त्री तिमिल्सिनाले प्रतिस्पर्धात्मक प्रक्रियाबाट छनोट भई जिम्मेवारी सम्हालेका अध्यक्षप्रति उच्च अपेक्षा रहेको बताउँदै सञ्चार क्षेत्रलाई थप जिम्मेवार, मर्यादित र प्रभावकारी बनाउन प्रेस काउन्सिलको भूमिका महत्वपूर्ण रहने उल्लेख गरे।

उनले गलत सूचना (मिसइन्फरमेसन) र दुष्प्रचार (डिसइन्फरमेसन) सञ्चार क्षेत्रका प्रमुख चुनौतीका रूपमा रहेको भन्दै त्यसको पहिचान र नियन्त्रणका लागि प्रभावकारी पहल आवश्यक रहेको बताए। साथै, मिडिया काउन्सिल विधेयक र आमसञ्चार विधेयकलाई अघि बढाउने प्रक्रिया जारी रहेको जानकारी दिए।

नवनियुक्त अध्यक्ष श्रेष्ठले सञ्चार माध्यमको स्वरूप परिवर्तन भइसके पनि प्रेस काउन्सिल सम्बन्धी कानुन समयानुकूल हुन नसकेको उल्लेख गर्दै आवश्यक कानुनी सुधारमा जोड दिए। उनले पत्रकार आचार संहिताको प्रभावकारी कार्यान्वयन गर्दै पत्रकारितामा स्वनियमन प्रणालीलाई थप सुदृढ बनाउने आफ्नो प्राथमिकता रहने बताए।

सरकार र सञ्चार क्षेत्रबीच विश्वासको पुलका रूपमा काम गर्दै प्रेस स्वतन्त्रताको संरक्षण र जिम्मेवार पत्रकारिताको प्रवर्द्धनमा काउन्सिल सक्रिय रहने प्रतिबद्धता पनि उनले व्यक्त गरे।

यसैबीच, सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरेलाई पनि नियुक्त गरेको छ।

Leave A Reply

Your email address will not be published.