राष्ट्र बैंक वीरगञ्जको आग्रह : अनलाइन ठगीबाट बच्न आम नागरिक सतर्क बनौँ

34

मंसिर ५ वीरगञ्ज आनन्द पटेल ।

डिजिटल सेवासँग जोडिएका ठगी र अनलाइन स्क्यामका घटनामा पछिल्लो समय तीव्र वृद्धि भएको नेपाल राष्ट्र बैंक वीरगञ्ज कार्यालयले जनाएको छ। बैंकले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा निर्देशक सुशिल पौडेलले सामाजिक सञ्जालमार्फत ‘इनभेष्टमेन्ट स्किम’ को नाममा सर्वसाधारण ठगिने क्रम अत्याधिक बढेको जानकारी दिए।

उनका अनुसार ठगी समूहले पहिलो चरणमा अनलाइनमै आत्मीयता बढाउने, विश्वास जित्ने र त्यसपछि विभिन्न समूह वा च्यानलमा जोडेर ठूलो रकम लगानी गर्न प्रलोभन देखाउने प्रवृत्ति बढेको छ। धेरैजसो यस्ता समूह अटो–डिलिट भइरहने भएकाले प्रमाण संकलन नै कठिन हुने बताइएको छ।

पौडेलले पढे–लेखेकासमेत लाखौं रुपैयाँ ठगीमा परेका उदाहरण राष्ट्र बैंकमा दर्ता भएको उल्लेख गर्दै अज्ञानता, लोभ र डर नै ठगीका मुख्य आधार भएको बताए। उनले दर्ता नभएका कम्पनी वा व्यक्तिमा गरेको लगानीमा रकम फिर्ता हुने ग्यारेन्टी नहुने चेतावनी दिए।

डिजिटल मनी तथा इन्टरनेट बैंकिङ प्रयोग गर्दा आधारभूत सुरक्षा उपाय अपनाउनुपर्नेमा जोड दिंदै उनले शंकास्पद लिंक, म्यासेज र अनपहिचान स्रोतबाट आएका अफरबाट जोगिन सर्वसाधारणलाई आग्रह गरे।

राष्ट्र बैंकले चाँडै वीरगञ्जमै ‘गुनासो सुनुवाइ इकाइ’ स्थापना गर्ने तयारी गरेको जानकारी दिँदै उनले ठगीको घटना परेमा तत्काल खाता हुने बैंकमा उजुरी दर्ता गर्न र अनुसन्धान निकायमा निवेदन दिन आग्रह गरे। अहिले देखिएका धेरै स्क्यामहरू विदेशी नेटवर्कमार्फत सञ्चालन भई अपराधीक खातामा रकम सारिने गरेको पनि उनले बताए।

उपनिर्देशक अभियान उपाध्यायले इन्टरनेट बैंकिङले सुविधा बढाए पनि डिजिटल साक्षरता कमजोर भएकै कारण ठगीको जोखिम बढेको उल्लेख गरे। डिजिटल सचेतना नबढेसम्म यस प्रकारका अपराध कम नहुने उनको भनाइ छ।

बैंकका अधिकारीहरूले डिजिटल वित्तीय सेवाको सुरक्षित प्रयोग, लगानीअघि अनिवार्य जाँच–पड्ताल, KYC नियमित अपडेट राख्ने र अनधिकृत लिंक तथा सन्देशबाट सतर्क रहने बानी बसाल्न सर्वसाधारणलाई अनुरोध गरेका छन्।

Leave A Reply

Your email address will not be published.