रास्वपा उम्मेदवार कानु : युवाले परिवर्तन खोजेकै कारण आज निर्वाचन सम्भव भयो
वीरगन्ज । पर्सा निर्वाचन क्षेत्र नं. २ अन्तर्गत वीरगन्ज महानगरपालिका वडा नम्बर २५ स्थित ड्राइपोर्ट सिर्सिया तथा भन्सार सिर्सियामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पार्टी कार्यालय औपचारिक रूपमा उद्घाटन गरिएको छ। प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै खोलिएको उक्त कार्यालयको उद्घाटन रास्वपाका उम्मेदवार सुशील साह कानुले गरेका हुन्।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै उम्मेदवार कानुले देशमा वर्तमान निर्वाचन सम्भव हुनुको प्रमुख कारण युवामा बढ्दो परिवर्तनको चाहना रहेको बताए।
“युवाले परिवर्तन खोजेकै कारण आज देश निर्वाचन प्रक्रियामा पुगेको हो,” उनले भने, “पुराना दलहरू अझै जरा गाडेर बसेका छन्, तर परिवर्तन चाहने युवाको दबाबकै कारण चुनाव हुन बाध्य भएको अवस्था छ।”
कानुले आफू आर्थिक रूपमा बलियो उम्मेदवार नभए पनि युवाको साथ, विश्वास र सक्रियताकै आधारमा चुनाव जित्ने दाबी गरे।
“मेरो उम्मेदवारी पैसाको बलमा होइन,” उनले स्पष्ट पारे, “यो युवाको बल, भरोसा र सहभागिताले जित्ने उम्मेदवारी हो।”
कार्यक्रममा उनले पर्सा–२ अन्तर्गतका स्थानीय समस्याहरूलाई आफ्नो प्रमुख चुनावी एजेन्डा बनाएको उल्लेख गरे। वर्षौंदेखि विभिन्न स्थानमा पुल नहुँदा र सूचना तथा सञ्चारको पहुँच कमजोर हुँदा स्थानीयवासीले नेटवर्क समस्यासमेत झेल्दै आएको उनको भनाइ थियो।
“यस्ता आधारभूत समस्या समाधान नगरी विकासको कुरा गर्नु निरर्थक हुन्छ,” कानुले जोड दिए।
उनले शिक्षा र स्वास्थ्य क्षेत्रको वर्तमान अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यी क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाए।
“शिक्षा र स्वास्थ्य बलियो नभएसम्म समाज समृद्ध हुन सक्दैन,” उनले भने, “स्थानीय नागरिकले सहज रूपमा गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा पाउने व्यवस्था गर्नु मेरो मुख्य लक्ष्य हो।”
पार्टी कार्यालय उद्घाटन कार्यक्रममा सहभागी युवाहरूले पुरानै शैलीको राजनीति र पटक–पटक दोहोरिने आश्वासनबाट दिक्क भइसकेको प्रतिक्रिया दिए। उनीहरूले नयाँ सोच, पारदर्शिता र जवाफदेहितामा आधारित राजनीतिको आवश्यकता रहेको उल्लेख गर्दै रास्वपाप्रति समर्थन जनाएका थिए।