रुङटालाई बलियो साथ, मुर्लीमा २५० बढीको काँग्रेस प्रवेश
वीरगञ्ज — वीरगञ्ज महानगरपालिका वडा नं. १३ मुर्लीमा आयोजित विशेष कार्यक्रममा विभिन्न राजनीतिक दल परित्याग गरी करिब अढाई सय नेता–कार्यकर्ता नेपाली कांग्रेस मा प्रवेश गरेका छन्। प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा भएको यो प्रवेश कार्यक्रमलाई पर्सा निर्वाचन क्षेत्र नं. १ मा काँग्रेसको बढ्दो प्रभावका रूपमा हेरिएको छ।
कार्यक्रम काँग्रेस मुर्लीका बुथ सभापति कबिर अन्सारीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा नेकपा एमाले र जनता समाजवादी पार्टी लगायत अन्य दल परित्याग गरेका करिब १५० पुरुष र १०० महिला गरी ठूलो संख्यामा जेन–जी युवा तथा स्थानीय अगुवाहरू काँग्रेसमा समाहित भएका हुन्।
नवप्रवेशीहरूलाई पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार अनिल रुङटा ले फुलमाला र गम्छा ओढाएर स्वागत गरे। उनले युवाहरूको उल्लेखनीय सहभागिताले पार्टी थप सशक्त र गतिशील बनेको बताउँदै देश विकास, सुशासन र ‘समृद्ध नेपाल’ निर्माणको साझा लक्ष्यमा काँग्रेस प्रतिबद्ध रहेको धारणा राखे। साथै, व्यक्तिगत स्वार्थका लागि समुदायबीच भ्रम फैलाउने तत्वबाट सावधान रहन मतदातालाई आग्रह गर्दै सद्भाव, भाइचारा र शान्तिको पक्षमा मतदान गर्न अपिल गरे।
कार्यक्रममा काँग्रेसकी सहमहामन्त्री डिना सङ्ग्रौला पन्त प्रमुख अतिथिका रूपमा सहभागी भइन्। सम्बोधनका क्रममा उनले देशमा ऐतिहासिक परिवर्तनको नेतृत्व काँग्रेसले गर्दै आएको उल्लेख गर्दै योग्य उम्मेदवारलाई भारी मतले विजयी बनाउन आग्रह गरिन्। युवाको उज्ज्वल भविष्य, महिला सशक्तीकरण र समृद्ध राष्ट्र निर्माणका लागि काँग्रेसको ‘रुख’ चुनाव चिन्हमा मतदान गर्न उनले अपिल गरिन्।
त्यसैगरी काँग्रेस पर्साका कार्यवाहक रामनारायण कुर्मी, प्रदेश सदस्य ताज अलि, वीरगञ्ज महानगरका सचिव शिवचन्द्र यादव, क्षेत्र नं. १ का क्षेत्रीय सभापति अरविन्द गुप्ता, उपसभापति अनिल सिंह, युवा नेता रुस्तम शेख, नेपाल महिला संघ की केन्द्रीय सदस्य किरण सरकार, नेपाल विद्यार्थी संघ का केन्द्रीय सदस्य सुरेन्द्र लामिछाने लगायतका नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
वक्ताहरूले उम्मेदवार रुङटा मैदानमा आएपछि निरन्तर अन्य पार्टीका नेता–कार्यकर्ता काँग्रेसमा प्रवेश गरिरहेको दाबी गर्दै यसले संगठनलाई थप मजबुत बनाएको बताए। उनीहरूले वीरगञ्जमा देखिएको जलसंकट, विकास निर्माणमा अनियमितता तथा भ्रष्टाचारप्रति चिन्ता व्यक्त गर्दै स्वच्छ र इमान्दार नेतृत्वको आवश्यकता औँल्याए।
मुर्लीमा भएको यस बृहद् प्रवेश कार्यक्रमले पर्सा क्षेत्र नं. १ मा काँग्रेसप्रति युवा र महिलाको आकर्षण बढ्दै गएको संकेत गरेको विश्लेषण गरिएको छ। स्थानीय स्तरमा बढ्दो जनसमर्थनसँगै निर्वाचन क्षेत्रको प्रतिस्पर्धा थप रोचक बन्दै गएको देखिएको छ।