रूपेश कुमार पाण्डेको पक्षमा बढ्दो जनलहर, पर्सा–३ मा एमाले उत्साहित
वीरगञ्ज।
पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर–३ अन्तर्गत सखुवा प्रसौनी गाउँपालिका मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) द्वारा आयोजित घरदैलो तथा जनता दर्शन कार्यक्रम उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै कार्यक्रमले चुनावी माहोल थप तातेको संकेत दिएको छ।
एमालेका युवा तथा भरोसायोग्य उम्मेदवारका रूपमा परिचित रूपेश कुमार पाण्डेको पक्षमा स्थानीयस्तरमा देखिएको जनसमर्थनले पर्सा–३ को चुनावी समीकरण परिवर्तनतर्फ उन्मुख भएको आकलन गरिएको छ। घरदैलोका क्रममा पाण्डेले गाउँ–गाउँ पुगेर ज्येष्ठ नागरिक, महिला, युवा तथा किसानहरूसँग प्रत्यक्ष संवाद गर्दै आफ्नो विकास दृष्टिकोण प्रस्तुत गरेका थिए।
स्थानीय बासिन्दाले शिक्षा, स्वास्थ्य, कृषि आधुनिकीकरण, रोजगारी सिर्जना तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राख्ने पाण्डेको योजनाप्रति समर्थन जनाएका छन्। मतदाताहरूले यसपटकको निर्वाचन परिवर्तनको पक्षमा हुने संकेत दिएका बताइएको छ।
कार्यक्रममा स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले फागुन २१ गते सूर्य चिन्हमा मतदान गरी एमालेका उम्मेदवार रूपेश कुमार पाण्डेलाई विजयी गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।
पर्सा–३ मा युवा नेतृत्वप्रतिको आकर्षण बढ्दै गएको देखिन्छ। विगतका असन्तुष्टि र विकासको अपेक्षाबीच मतदाताहरू स्पष्ट योजना र नयाँ ऊर्जासहितको नेतृत्व खोजिरहेका छन्। यस सन्दर्भमा रूपेश पाण्डे परिवर्तनका संवाहकका रूपमा स्थापित हुँदै गएको एमाले वृत्तको दाबी छ।
जनता दर्शन कार्यक्रममार्फत प्रत्यक्ष संवादको शैली अपनाउँदै एमालेले संगठनात्मक एकता र जनआधार दुवै मजबुत बनाएको सन्देश दिएको छ। फागुन २१ नजिकिँदै जाँदा सखुवा प्रसौनीसहित समग्र पर्सा–३ मा एमालेको चुनावी अभियान थप सक्रिय र प्रभावकारी बन्दै गएको बताइएको छ।