रोयल किड्स मन्टेस्वरीमा सिर्जनात्मक गतिविधि, मेहन्दी प्रतियोगिताका विजेता सम्मानित

63

वीरगञ्ज, साउन २

साउन महिनाको पहिलो दिनको अवसरमा वीरगञ्ज महानगरपालिका–१० अशोक बाटिकास्थित रोयल किड्स मन्टेस्वरी स्कुलमा मेहन्दी प्रतियोगिता उत्साहपूर्वक सम्पन्न भएको छ।

प्रतियोगितामा विद्यालयका विद्यार्थीहरूले उत्साहजनक सहभागिता जनाएका थिए। प्रतिस्पर्धामा प्रेमा देवी प्रथम, नेहा चौधरी द्वितीय तथा ममता कुमारी तृतीय हुन सफल भएका छन्।

विजेता विद्यार्थीहरूलाई विद्यालयकी प्रिन्सिपल रुचिका कुमारी तथा निर्णायक मण्डलकी सदस्य रेखा जैसीले प्रमाणपत्र प्रदान गरी सम्मान गरेका थिए। प्रतियोगितामा सहभागी सबै विद्यार्थीलाई पनि प्रमाणपत्रसहित सम्मान गरिएको विद्यालयले जनाएको छ।

कार्यक्रममा उपस्थित अभिभावकहरूले विद्यालयले अध्ययनसँगै अतिरिक्त क्रियाकलापलाई प्राथमिकता दिएकोमा प्रशंसा गर्दै भविष्यमा पनि यस्ता सिर्जनात्मक तथा खेलकुदमूलक कार्यक्रमलाई निरन्तरता दिन सुझाव दिएका थिए। उनीहरूले विद्यालयको शैक्षिक वातावरणप्रति सन्तुष्टि व्यक्त गर्दै बालबालिकाको सर्वाङ्गीण विकासमा विद्यालयले महत्वपूर्ण भूमिका खेलेको बताएका थिए।

विद्यालयकी प्रिन्सिपल रुचिका कुमारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा माउन्ट मकालु बोर्डिङ स्कुलकी सहायक प्रिन्सिपल रेखा जैसी निर्णायकको भूमिकामा रहेकी थिइन् भने कार्यक्रमको सहजीकरण सोही विद्यालयका प्रिन्सिपल राहुल श्रीवास्तवले गरेका थिए।

Leave A Reply

Your email address will not be published.