वीरगंजमा “एक घर, एक बिरुवा” अभियान सुरु, ५ हजार बिरुवा वितरणको लक्ष्य
वीरगंज, साउन २१
वीरगंज महानगरपालिकाले वातावरणीय सन्तुलन कायम राख्ने र हरियाली प्रवद्र्धन गर्ने उद्देश्यले सुरु गरेको “एक घर, एक बिरुवा” अभियान अन्तर्गत बुधबार घण्टाघर चोकमा फलफूलका बिरुवाहरू निःशुल्क वितरण गरिएको छ।
उक्त कार्यक्रमको उद्घाटन वीरगंज महानगर प्रमुख राजेशमान सिंह स्वयं उपस्थित भई स्थानीयवासीहरूलाई बिरुवा वितरण गर्दै गर्नुभएको थियो। कार्यक्रम अन्तर्गत आँप, लिची, कागती, अनार, अम्बा, बेल लगायतका विभिन्न प्रजातिका फलफूलका बिरुवाहरू वितरण गरिएको हो।
महानगर प्रमुख सिंहले कार्यक्रममा बोल्दै भन्नुभयो, “हरियालीले शहरलाई स्वस्थ बनाउँछ, र प्रत्येक घरको आँगनमा एक बिरुवा रोप्न सके हामीले वातावरणीय सन्तुलनमा ठूलो योगदान दिन सक्छौं। हामीलाई सहरी विकाससँगै हरित विकास पनि उत्तिकै आवश्यक छ।”
महानगरपालिकाको कृषि शाखा प्रमुख रोशनी यादवका अनुसार करिब ५ हजार बिरुवा वितरण गर्ने लक्ष्य रहेको छ, जसको सुरुवात घण्टाघर चोकबाट गरिएको हो। यस अभियानअन्तर्गत सार्वजनिक स्थल, विद्यालय, धार्मिक स्थल र इच्छुक घरधुरीहरूलाई बिरुवा प्रदान गरिने बताइएको छ।
स्थानियबासीहरूले महानगरको यो अभियानको खुलेर स्वागत गरेका छन्। नगर प्रमुख सिंहले आफूले कल्पना गरेको “स्वच्छ वीरगंज, हरियाली वीरगंज र सुन्दर वीरगंज” बनाउन सबै घरमा एक बिरुवा रोप्नुपर्ने धारणा व्यक्त गर्दै बुधबार मात्रै ३ हजार बिरुवा वितरण गरिएको जानकारी दिनुभयो।