वीरगञ्जमा अशोक टेमानीको चुनावी अभियान तीव्र, वडा नं. १० मा भव्य घरदैलो
वीरगञ्ज (पर्सा), २२ माघ — पर्सा निर्वाचन क्षेत्र नं. २ अन्तर्गत प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार अशोक टेमानी ले आफ्नो चुनावी अभियानलाई थप तीव्र बनाएका छन्। जनता समाजवादी पार्टी (जसपा) नेपालको तर्फबाट उम्मेदवारी दिएका टेमानीले बिहीबार वीरगञ्ज महानगरपालिकामा भव्य रूपमा घरदैलो अभियान सञ्चालन गरेका हुन्।
चुनावी प्रचारप्रसारको महत्वपूर्ण चरणमा प्रवेश गरेको यस अभियानअन्तर्गत टेमानीले वीरगञ्ज महानगरपालिका वडा नं. १० का विभिन्न टोलमा पुगेर मतदाताहरूसँग प्रत्यक्ष भेटघाट तथा संवाद गरेका थिए। घरदैलोका क्रममा उनले स्थानीय नागरिकका समस्या, आवश्यकता र अपेक्षालाई नजिकबाट सुनेका छन्।
स्थानीयवासीहरूले शिक्षा, स्वास्थ्य, रोजगारी, खानेपानी, सडक तथा आधारभूत सेवा सुविधासम्बन्धी गुनासा र सुझाव राखेका थिए। ती विषयलाई गम्भीरतापूर्वक लिँदै टेमानीले आफू निर्वाचित भएमा प्राथमिकताका साथ संसदमा उठाउने प्रतिबद्धता जनाए। उनले आफू नेता नभई जनताको सेवकका रूपमा काम गर्ने स्पष्ट धारणा व्यक्त गर्दै जवाफदेही र फरक राजनीतिक अभ्यास आवश्यक रहेको बताए।
वडा नं. १० का मतदातासँगको भेटमा टेमानीले मधेश र पर्साको समग्र विकासका लागि दीर्घकालीन योजना अपरिहार्य रहेको उल्लेख गरे। वीरगञ्जलाई आर्थिक तथा औद्योगिक केन्द्रका रूपमा विकास गर्न संघीय सरकारमा बलियो आवाज आवश्यक रहेको उनको भनाइ थियो। ‘जनताको पीडा बुझ्ने, जनतासँगै हिँड्ने र जनताकै आवाज संसदमा पुर्याउने प्रतिनिधि आजको आवश्यकता हो,’ उनले भने।
घरदैलो अभियानका क्रममा टेमानीप्रति स्थानीय मतदाताबाट उत्साहजनक समर्थन देखिएको छ। धेरै मतदाताले उनको सरल स्वभाव, पहुँचयोग्य व्यवहार र स्थानीयस्तरमै निरन्तर सक्रिय भूमिकाको प्रशंसा गरेका छन्। लामो समयदेखि क्षेत्रमै बसेर जनतासँग घुलमिल हुँदै आएका टेमानीप्रति विश्वास बढ्दै गएको स्थानीयको प्रतिक्रिया छ।
जसपा नेपालले पर्सा–२ लाई यसपटक महत्वपूर्ण निर्वाचन क्षेत्रका रूपमा लिएको छ। सोहीअनुसार उम्मेदवार टेमानीले घरदैलो, टोलसभा तथा प्रत्यक्ष संवादलाई अझ सशक्त बनाउँदै लगेका छन्। आगामी दिनमा अभियानलाई थप व्यापक बनाइने पार्टीले जनाएको छ।
नेता भन्दा पनि जनताको सेवाका लागि निर्वाचनमा होमिएका टेमानी मधेश प्रदेशकै सफल उद्योगी–व्यवसायीका रूपमा चिनिन्छन्। विगत दशकौँदेखि सामाजिक सेवामा सक्रिय रहँदै आएका उनी नीतिगत तहमा पुगेर यस क्षेत्रका समस्याको दीर्घकालीन समाधान गर्ने उद्देश्यसहित प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी भएका हुन्। टेमानी निर्वाचित भए शिक्षा, स्वास्थ्य, रोजगारी र विकासका क्षेत्रमा ठोस उपलब्धि हासिल हुनेमा मतदाताले विश्वास व्यक्त गरेका छन्।