वीरगञ्जमा ट्राफिक सचेतना प्रशिक्षण सम्पन्न, २५० बढी विद्यार्थी लाभान्वित
वीरगञ्ज, ०५ फाल्गुन। Allied Youth Society वीरगञ्जको आयोजनामा तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा को सहयोगमा ट्राफिक सचेतना प्रशिक्षण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम Global Business College मा आयोजना गरिएको थियो।
कार्यक्रममा ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक युवराज कटवालको प्रमुख आतिथ्यता रहेको थियो। कक्षा ११ र १२ का २५० भन्दा बढी विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको उक्त कार्यक्रममा ट्राफिक सम्बन्धी सैद्धान्तिक तथा व्यवहारिक जानकारी प्रदान गरिएको थियो।
प्रशिक्षणका क्रममा ट्राफिक संकेत चिन्हहरूको परिचय, सडक पार गर्ने सही तरिका, सवारी चालकले पालन गर्नुपर्ने नियम, हेल्मेट र सिटबेल्ट प्रयोगको महत्व, दुर्घटना न्यूनीकरणका उपायहरू तथा प्राथमिक उपचार सम्बन्धी आधारभूत जानकारी दिइएको थियो। साथै प्रश्न–उत्तर तथा अन्तरक्रिया कार्यक्रममार्फत विद्यार्थीहरूको जिज्ञासा समाधान गरिएको थियो।
प्रमुख अतिथि प्रहरी निरीक्षक युवराज कटवालले ट्राफिक नियमको पालना जीवन सुरक्षासँग प्रत्यक्ष जोडिएको विषय भएको उल्लेख गर्दै सानो लापरवाहीले ठूलो दुर्घटना निम्त्याउन सक्ने बताए। उनले विद्यार्थीहरू सचेत बने समाज पनि सुरक्षित बन्ने धारणा व्यक्त गरे।
कार्यक्रमको नेतृत्व Allied Youth Society का सचिव सन्नी श्रीवास्तव तथा विभागीय प्रमुख नगेन्द्र मनुराजले गर्नुभएको थियो। साथै सोनु गुप्ता र प्रितम यादवलगायत सदस्यहरूको सक्रिय सहयोग रहेको थियो।
कार्यक्रममा एलाईड युथ सोसाइटीका संस्थापक ओम झाको विशेष उपस्थिति रहेको थियो। सचेतनाबाटै सुरक्षित र अनुशासित समाज निर्माण सम्भव छ भन्ने सन्देशसहित सम्पन्न उक्त कार्यक्रमले विद्यार्थीहरूमा ट्राफिक नियमप्रति सकारात्मक सोच विकास गर्न महत्वपूर्ण योगदान पुर्याएको आयोजकले जनाएको छ।