
वीरगञ्ज सुक्खा बन्दरगाहबाट १० महिनामा ४१ अर्ब भन्दा बढी राजस्व सङ्कलन
वीरगञ्ज (पर्सा) । सिर्सिया स्थित वीरगञ्ज सुक्खाबन्दरगाह भन्सार कार्यालयले चालू आर्थिक वर्षको १० महिना साउनदेखि वैशाखसम्ममा रु ४१ अर्ब १८ करोड ११ लाख ३८ हजार राजस्व सङ्कलन गरेको छ। यो सङ्कलन वार्षिक लक्ष्यको ६८।५८ प्रतिशत हो।
कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालका अनुसार, गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालू आर्थिक वर्षमा राजस्व सङ्कलनमा रु एक अर्ब १४ करोड २८ लाखले वृद्धि भएको छ। गत आवको १० महिनामा रु ४० अर्ब ३ करोड ८३ लाख ३८ हजार राजस्व सङ्कलन भएको थियो। यसरी समग्रमा २।८५ प्रतिशतले राजस्व सङ्कलनमा वृद्धि भएको छ।
भन्सार विभागले कार्यालयलाई वर्षभरिमा रु ६० अर्ब ४ करोड ८७ लाख ९७ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको थियो। कार्यालयले साउनमा रु ३ अर्ब ७५ करोड, भदौमा रु ४ अर्ब ६४ करोड, असोजमा रु ४ अर्ब ३६ करोड, कात्तिकमा रु ३ अर्ब ७९ करोड, मङ्सिरमा रु ३ अर्ब २२ करोड, पुसमा रु ३ अर्ब ५६ करोड, माघमा रु ४ अर्ब २९ करोड, फागुनमा रु ४ अर्ब ६८ करोड, चैतमा रु ४ अर्ब ५० करोड र वैशाखमा रु ४ अर्ब ३४ करोड ५२ लाख ८९ हजार राजस्व सङ्कलन गरेको छ।