सडकआश्रित मानवको साहारा बन्दै मानवसेवा आश्रम वीरगञ्जको ९ वर्षे यात्रा
वीरगञ्ज, १५ जेठ ।
मानवसेवा आश्रम वीरगञ्ज शाखाले बिहीबार आफ्नो ९औँ वार्षिक उत्सव समारोह मनाएको छ। २०७४ साल जेठ १५ गते नारायणी अस्पतालबाट “शंकर” नाम गरेका एक सहयोगापेक्षी व्यक्तिको उद्धार गर्दै शाखाको औपचारिक शुभारम्भ गरिएको थियो।
उक्त उद्धार कार्यमा मानवसेवा आश्रम वीरगञ्जका संस्थापक देवेश गुप्ता, तत्कालीन प्रमुख जिल्ला अधिकारी केशव प्रसाद घिमिरे, डा. दीपक शाक्य, मीनाक्षी गुप्ता, रहबर अन्सारी, उषा शाह, कनिका कौशिक, मायामितु न्यौपाने, मुकेश खेतान, कमल चौगाईं, युवराज केसरी, आशिष श्रेष्ठ, रिशव अग्रवाल, संगीता शाक्य, लालबहादुर गुरुङ, विजय ठाकुर तथा अंशु कार्की लगायतको उपस्थिति रहेको थियो।
मानवसेवा आश्रम वीरगञ्ज शाखा २०७४ देखि २०७९ सालसम्म वीरगञ्ज–९ स्थित इन्डियन एम्बेसी पछाडिको भाडाको घरमा सञ्चालन हुँदै आएको थियो। त्यसपछि २०८० सालमा प्रदेश सांसद रमेश पटेलको पहलमा वीरगञ्ज–२५ श्रीसियामा वृद्धाश्रमका लागि निर्माण गरिएको भवनमा आश्रम सञ्चालन भइरहेको छ।
यस्तै, वीरगञ्ज महानगरपालिकाले वीरगञ्ज–१५ लक्ष्मणवामा उपलब्ध गराएको १४ कठ्ठा जग्गामा करिब २० करोड रुपैयाँ लागतमा सुविधा सम्पन्न भवन निर्माण कार्यसमेत सुरु भएको आश्रमले जनाएको छ।
विशुद्ध गैरनाफामूलक परोपकारी सामाजिक संस्था मानवसेवा आश्रमले २०६९ सालदेखि सहयोगापेक्षी सडकआश्रित मानवहरूको उद्धार, उपचार, पालनपोषण, संरक्षण तथा पारिवारिक पुनर्मिलनको कार्य गर्दै आएको छ। हाल आश्रमले सातै प्रदेशका २२ जिल्लामा ३४ वटा सेवाकेन्द्र सञ्चालन गरिरहेको छ।
आश्रमका अनुसार वीरगञ्ज शाखाले स्थापना कालदेखि हालसम्म ३४२ जनाको उद्धार गरेको छ। तीमध्ये १५९ जनाको पारिवारिक पुनर्मिलन, ३३ जनाको सामुदायिक पुनर्स्थापना तथा ६५ जनालाई अन्य शाखामा स्थानान्तरण गरिएको छ। हाल श्रीसिया स्थित आश्रममा ४४ जना महिला, पुरुष तथा बालबालिका आश्रित रहेका छन्।
मानवसेवा आश्रम वीरगञ्जका संस्थापक देवेश गुप्ताले आश्रम सम्पूर्ण पर्सा–बारावासीको माया, विश्वास र सहयोगबाट सञ्चालन भइरहेको बताउनुभयो। उहाँले श्रमिकदेखि उद्योगपति, व्यापारी, कर्मचारी, विद्यार्थी र गृहिणीसम्म सबै वर्गका मानिसहरूले आफ्नो क्षमता अनुसार सहयोग गर्दै आएको उल्लेख गर्नुभयो।
आश्रम परिवारले विगत ९ वर्षदेखि निरन्तर साथ, सहयोग र विश्वास प्रदान गर्ने सम्पूर्ण सहयोगी, शुभेच्छुक तथा वीरगञ्जवासीप्रति आभार व्यक्त गरेको छ।