काठमाडौं, २५ कात्तिक – मधेस प्रदेशमा नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति विरोध स्वरुप सात दलका सांसदहरू आजदेखि आन्दोलनमा उत्रिएका छन्। नेपाली कांग्रेस, जनता समाजवादी नेपाल, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र नागरिक उन्मुक्ति पार्टीका सांसदहरूले यादवको नियुक्ति असंवैधानिक भएको दाबी गर्दै मधेस भवन अगाडि धर्ना दिएका छन्।
सांसदहरूलाई मधेस भवन प्रवेश गर्न नदिएपछि उनीहरू मुख्य गेटमै बसेका छन्। मुख्यमन्त्री यादवलाई भवन प्रवेश गर्न नदिनका लागि सांसदसहित कार्यकर्ताहरूले गेटमा टायर बालेर प्रदर्शन सञ्चालन गरेका छन्।
मधेस प्रदेश सरकारको मुख्यालयमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ भने धर्नाका कारण आसपासको आवतजावत ठप्प भएको छ। एमाले, राप्रपा र संघीय समाजवादी पार्टी बाहेकका सबै दलहरू यस आन्दोलनमा सक्रिय छन्। प्रदेश प्रमुखले एमालेका सरोजकुमार यादवलाई रातारात बर्दिबासको एक होटलमा मुख्यमन्त्री नियुक्त गरी शपथ ग्रहण गराएका थिए।