हिमालयन पिरामिट कलेजमा खुला रक्तदान कार्यक्रम : ७ महिला सहित ४० जनाले गरे रक्तदान
कार्तिक २६, वीरगञ्ज ।
बीरगञ्ज महानगरपालिका–११ श्रीपुरस्थित हिमालयन पिरामिट कलेज (+२ साइन्स) मा बुधबार आयोजित खुला रक्तदान कार्यक्रममा ७ जना महिला सहित ४० जनाले रक्तदान गरेका छन्।
कलेज परिसरमै सम्पन्न उक्त रक्तदान कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक र स्थानीय बासिन्दाको उत्साहजनक सहभागिता रहेको थियो।

रक्तदान कार्यक्रमको उद्घाटन कलेजका सञ्चालक समिति सदस्य मनोज केसरी र प्रविण सिंहले संयुक्त रूपमा रक्तदान गरेर गर्नुभएको थियो।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी मधेश विश्वविद्यालयका रजिष्ट्रार विजय कुमार यादवले हिमालयन पिरामिट कलेजले शिक्षा सँगसँगै समाजप्रतिको उत्तरदायित्व पनि पूरा गरिरहेको बताउनुभयो। उहाँले भन्नुभयो,
“हिमालयन पिरामिट कलेजले शैक्षिक क्षेत्रसँगै सेवा भावना र मानवता जगाउने काम गर्दै आएको छ। यस्तो अभियानले युवाहरूमा सामाजिक उत्तरदायित्वको चेतना जागृत गर्छ।”
सञ्चालक समिति सदस्य मनोज केसरीले कलेजले छोटो अवधिमै वीरगञ्जमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको बताउँदै भने,
“हामी विद्यार्थीहरूको शैक्षिक गुणस्तर र नैतिक मूल्यमा केन्द्रित छौं। हाम्रो उद्देश्य केवल शिक्षा प्रदान गर्नु मात्र होइन, जिम्मेवार नागरिकका रूपमा विद्यार्थी तयार पार्नु पनि हो।”
उहाँले आगामी दिनमा पनि कलेजले सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो।
रक्तदान कार्यक्रममा सहभागी रक्तदाताहरूलाई प्रमुख अतिथि यादवले प्रमाणपत्र वितरण गर्नुभएको थियो।
रक्त सङ्कलन कार्य रक्त संचार केन्द्रको प्राविधिक सहयोगमा सम्पन्न भएको हो। कलेजका सञ्चालक मनोज केसरीका अनुसार रक्तदान गर्नेहरूमध्ये मनोज केसरी, प्रविण सिंह, रितिक रोशन यादव, शिवचन्द्र यादव, बिजय कुमार यादव लगायतका ४० जना रहेका थिए।