47

जनकपुरधाम — धनुषा प्रहरीविरुद्ध जनकपुरधामको बजार बन्द गरिएको छ । प्रहरीले अनाहकमा दुःख दिएको भन्दै व्यवसायीहरू विरोधमा उत्रिएका छन् । जनकपुर उद्योग वाणिज्य संघको आयोजनामा व्यवसायीहरूले आन्दोलनसमेत घोषणा गरेका छन् ।

व्यवसायीहरूले आज दिउँसो १२ बजेसम्म पसल बन्द गरेका छन् । प्रहरीले गत असोज ३१ गते अवैधरूपमा छापा मारेको भन्दै धनुषाका प्रहरी नायब उपरीक्षक गणेशबहादुर बम र घुमुवा प्रहरी सहायक निरीक्षक मनोजकुमार यादवलगायतलाई कारबाही गर्नुपर्ने माग गर्दै आएका छन् ।

सो दिन सुनचाँदी बजारमा घटेको घटनामा प्रहरीद्वारा दमन गरिएको र व्यापारीलाई तर्साउने काम भएको व्यवसायीहरूको गुनासो छ । धनुषाका प्रमुख जिल्ला अधिकारी र मधेस प्रदेशका डिआइजीलाई ज्ञापन बुझाए पनि चासो नलिएको संघका कार्यवाहक अध्यक्ष मनोजकुमार साहले जानकारी दिए ।

व्यवसायीहरूले चरणबद्ध रूपमा आन्दोलन गरिरहेका छन् । यस अघि शनिबार, आइतबार र सोमबार आ–आफ्नो पसलमा कालो झण्डा र कालो पट्टी बाधेर व्यवसाय सञ्चालन गरेका थिए भने आज १२ बजेसम्मका लागि पसल बन्द गरेका छन् ।

गत असोज ३१ गते जनकपुरधाममा प्रहरीले सुनचाँदी पसलमा छापा मार्न जाँदा व्यापारी र प्रहरीबीच झडप भएको थियो । झडपपछि व्यवसायीहरूले ढुंगामुढा गरेका थिए । त्यसपछि प्रहरीले लाठीचार्ज गर्दा तनाव सिर्जना भएको थियो । प्रहरीले अश्रुग्यास र हवाई फायर गरेको थियो । प्रहरीको लाठीचार्जबाट जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीलगायत केही घाइते भएका थिए ।

Leave A Reply

Your email address will not be published.