फागुन २१ को निर्वाचनका लागि १ लाख ४९ हजार म्यादी प्रहरी आजदेखि फिल्डमा

50

काठमाडौँ – आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भर्ना गरिएका ‘निर्वाचन प्रहरी’ आजदेखि देशभर फिल्डमा खटिने भएका छन्। भर्ना तथा छनोट प्रक्रिया पूरा गरी १० दिने आधारभूत तालिम सकेका एक लाख ४९ हजार म्यादी प्रहरी अब नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँग समन्वय गर्दै चुनावी सुरक्षामा परिचालित हुनेछन्।

नेपाल प्रहरीले एक लाख ३३ हजार ९ सय ८० र सशस्त्र प्रहरी बलले १५ हजार १ सय १० जना निर्वाचन प्रहरीलाई गएको माघ १८ गते नियुक्तिपत्र वितरण गरेको थियो। नियुक्तिपछि उनीहरूले सम्बन्धित जिल्ला प्रहरी कार्यालय तथा सशस्त्रका गुल्महरूमा आवश्यक तालिम लिएका थिए।

नेपाल प्रहरीका प्रवक्ता अविनारायण काफ्लेका अनुसार तालिम सम्पन्न गरेका म्यादी प्रहरीलाई एकीकृत सुरक्षा योजना–२०८२ अनुरूप चरणबद्ध रूपमा खटाउन थालिएको हो। “निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले सुरक्षाकर्मीहरूलाई परिचालन गरिएको छ,” उनले बताए।

निर्वाचन सुरक्षाका लागि यसअघि नै नेपाली सेना परिचालन भइसकेको छ। गएको २१ गतेदेखि सेनाले सुरक्षा तयारी तीव्र पारेको हो।

सुरक्षा व्यवस्थाअनुसार मतदानस्थलको भित्री घेराको सुरक्षा नेपाल प्रहरी र निर्वाचन प्रहरीले संयुक्त रूपमा गर्नेछन्। दोस्रो तहको सुरक्षा घेराको जिम्मेवारी सशस्त्र प्रहरी बललाई दिइएको छ भने सबैभन्दा बाहिरी सुरक्षा घेरामा नेपाली सेना रहनेछ।

सरकारले बहु–स्तरीय सुरक्षा प्रबन्धमार्फत निर्वाचनलाई शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गर्ने तयारी गरेको जनाएको छ।

Leave A Reply

Your email address will not be published.