प्रसौनी–३ नौतनमा सन्जु साहको बृहत् घरदैलो, ‘छाता’ छापमा मतदान गर्ने स्थानीयको प्रतिबद्धता
बारा। जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) का तर्फबाट बारा निर्वाचन क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार सन्जु साहको पक्षमा जनसमर्थन बढ्दै गएको देखिएको छ। प्रसौनी गाउँपालिका वडा नं. ३ नौतनमा आज आयोजित बृहत् घरदैलो तथा जनसम्पर्क कार्यक्रममा स्थानीयको उत्साहजनक सहभागिता रहेको थियो।
घरदैलो कार्यक्रमका क्रममा उम्मेदवार साहले टोल–टोलमा पुगेर स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गरेका थिए। उनले क्षेत्रको विकास, रोजगारी सिर्जना, कृषि तथा पूर्वाधार सुधारलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। मधेसको समग्र उत्थान, सामाजिक न्याय र समावेशी विकासका लागि जसपा नेपालले स्पष्ट दृष्टिकोण अघि सारेको उनको भनाइ थियो।
कार्यक्रममा पूर्व मुख्यमन्त्री जितेन्द्र सोनल, संविधानसभा सदस्य जयप्रकाश यादव, अधिवक्ता रामचन्द्र सिंह, महिला नेतृ रिता पटेल, उमेश साह, सन्दिप यादव, पूर्व गाउँपालिका प्रमुख भोला गुप्ता, पूर्व वडा अध्यक्ष बैजु गुप्ता, गीता साहलगायत सयौं नेता–कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको थियो। नेताहरूले सन्जु साहलाई विजयी गराउन सबैलाई एकजुट भएर लाग्न अपिल गरेका थिए।
स्थानीय बासिन्दाले उम्मेदवार साहलाई स्वागत गर्दै यसपटक ‘छाता’ छापमा मतदान गरी जित सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। उनीहरूले विगतका अधुरा विकास कार्यलाई पूर्णता दिन सक्षम नेतृत्व आवश्यक रहेको धारणा राखेका थिए।
चुनावी सरगर्मी बढ्दै जाँदा बारा–४ मा जसपा नेपालको अभियान दिनप्रतिदिन सशक्त बन्दै गएको देखिन्छ। घरदैलो, भेटघाट तथा जनसभामार्फत मतदातासँग निरन्तर सम्पर्कमा रहेको जसपा नेपालले आगामी निर्वाचनलाई लक्षित गर्दै आफ्नो गतिविधि तीव्र बनाएको छ।