वीरगञ्जमा लागूऔषध सहित १ जना बालक पक्राउ, १४ केजी भन्दा बढी गाँजा जस्तो पदार्थ बरामद
वीरगन्ज, आनन्द पटेल। पर्सा प्रहरीले वीरगञ्ज महानगरपालिका–१६ नगवाबाट लागूऔषध गाँजा जस्तो देखिने पदार्थसहित १ जना बालकलाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साको अनुसार गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले फूलबारी टोलस्थित एक घरमा खानतलासी गर्दा साना–साना पोका बनाई राखिएको अवस्थामा प्लास्टिक बोराभित्र लुकाइछिपाइ राखिएको गाँजा जस्तो पदार्थ बरामद गरेको हो।
प्रहरीले प्लास्टिक बोरा सहित करिब १४ केजी २७६ ग्राम गाँजा जस्तो पदार्थ फेला पारेको जनाएको छ। उक्त पदार्थ बिक्री–वितरणमा संलग्न रहेको आरोपमा १ जना नाबालकलाई नियन्त्रणमा लिइएको छ।
प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतका अनुसार पक्राउ परेका बालकमाथि लागूऔषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको छ।