वीरगञ्जका मदरसामा प्रहरीको अनुगमन, एक संस्था दर्ता विना सञ्चालनमा

54

वीरगञ्ज, १० बैशाख ।
पर्सा प्रहरीले वीरगञ्जस्थित मदरसाहरूमा चेकजाँच तथा अनुगमनलाई कडा बनाएको छ। पहिलो चरणअन्तर्गत वीरगञ्ज महानगरपालिका–छपकैया क्षेत्रमा रहेका चार वटा मदरसामा बिर्ता वडा प्रहरी कार्यालयको टोलीले स्थलगत निरीक्षण गरेको हो।

बिर्ता वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक विक्रम सुवेदीको नेतृत्वमा गरिएको अनुगमनका क्रममा मदरसाहरूको प्रशासनिक अवस्था, दर्ता प्रक्रिया तथा सञ्चालन सम्बन्धी कागजातहरूको जाँच गरिएको थियो। निरीक्षणका क्रममा एक मदरसा दर्ता बिना सञ्चालनमा रहेको पाइएपछि त्यसलाई यथाशीघ्र कानुनअनुसार दर्ता प्रक्रिया पूरा गर्न निर्देशन दिइएको प्रहरी निरीक्षक सुवेदीले जानकारी दिए।

प्रहरीका अनुसार पछिल्लो समय देखिएका केही गतिविधिलाई ध्यानमा राख्दै अनुगमनलाई तीव्रता दिइएको हो। पर्सा प्रहरी र बिर्ता वडा प्रहरी कार्यालयको संयुक्त टोलीले वीरगञ्जका अन्य मदरसाहरूमा समेत निरन्तर अनुगमन तथा चेकजाँच जारी राख्ने जनाएको छ।

प्रहरीले शैक्षिक संस्थाहरूलाई कानुनी दायराभित्र रहेर सञ्चालन गर्न आग्रह गर्दै आवश्यक कागजातहरू अद्यावधिक राख्न सचेत गराएको छ। साथै, सुरक्षा तथा व्यवस्थापनका दृष्टिले कुनै पनि शंकास्पद गतिविधि देखिए तत्काल जानकारी दिन सम्बन्धित पक्षलाई अनुरोध गरिएको छ।

Leave A Reply

Your email address will not be published.