सर्लाहीमा ४५ वर्षीय पुरुषको शव फेला
८ वैशाख, सर्लाही । सर्लाहीमा सडेको अवस्थामा एक पुरुषको शव फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता सरोज राई का अनुसार आइतबार साँझ करिब ४:३० बजे गोडैता नगरपालिका–६ बग्दहस्थित चिनी मिल नजिक हुलाकी सडकखण्डको छेउमा बेवारिसे अवस्थामा शव फेला परेको हो।
स्थानीयवासीले सडक आसपासबाट दुर्गन्ध आएपछि प्रहरीलाई खबर गरेका थिए। सूचना प्राप्त हुनासाथ प्रहरी चौकी गोडैताबाट खटिएको टोली घटनास्थल पुगेको थियो।
प्रहरीका अनुसार अन्दाजी ४० देखि ४५ वर्ष उमेर समूहका पुरुषको शव सडेगलेको अवस्थामा भेटिएको हो। शव अत्यधिक सडेकाले मृतकको पहिचान खुल्न सकेको छैन।
मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा मा राखिएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। प्रहरीले मृतकको पहिचान खुलाउने प्रयाससँगै घटनाको प्रकृतिबारे अनुसन्धान जारी राखेको छ।