नेशनल मेडिकल कलेज शिक्षण अस्पतालले पायो अन्तर्राष्ट्रिय गुणस्तर मान्यता

75

वीरगञ्ज | जेठ ०३

वीरगञ्जस्थित National Medical College Pvt. Ltd. अन्तर्गत सञ्चालित National Medical College Teaching Hospital ले अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त ISO 9001:2015 गुणस्तर व्यवस्थापन प्रणाली (QMS) अन्तर्गतको प्रमाणीकरण प्राप्त गरेको छ।

अस्पतालले उक्त प्रमाणीकरण प्राप्त गर्नु गुणस्तरीय स्वास्थ्य सेवा, बिरामी सुरक्षाको सुनिश्चितता तथा संस्थागत व्यवस्थापनप्रतिको प्रतिबद्धताको महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको जनाएको छ। अस्पतालको व्यवस्थापन प्रणाली, कार्यप्रणाली तथा सेवा प्रवाहको विस्तृत मूल्याङ्कनपछि ISO 9001:2015 प्रमाणीकरण प्रदान गरिएको हो।

प्रमाणीकरण अन्तर्गत अस्पतालका चिकित्सा सेवा, क्लिनिकल तालिम, शिक्षण अस्पताल सेवा, डायग्नोस्टिक तथा प्रयोगशाला सेवा, रेडियोलोजी, फार्मेसी, आपतकालीन सेवा, ब्लड बैंक लगायत अन्य सहयोगी सेवाहरू समेटिएका छन्। अस्पतालका अनुसार यसले गुणस्तर सुनिश्चितता, निरन्तर सुधार तथा मानकीकृत कार्यप्रणालीप्रतिको संस्थाको प्रतिबद्धतालाई थप मजबुत बनाएको छ।

वीरगञ्ज महानगरपालिका–१५, भेडियाही, पर्सामा अवस्थित अस्पतालले ISO 9001:2015 का सम्पूर्ण मापदण्ड पूरा गर्दै प्रमाणीकरण हासिल गरेको जनाएको छ। साथै निर्धारित अवधिमा अनुगमन अडिटहरू सफलतापूर्वक सम्पन्न गर्नुपर्ने व्यवस्था समेत रहेको अस्पतालले जानकारी दिएको छ।

अस्पताल व्यवस्थापनका अनुसार ISO प्रमाणीकरणले अन्तर्राष्ट्रिय गुणस्तर मापदण्ड कायम राख्न, सेवाग्राही सन्तुष्टि अभिवृद्धि गर्न तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ। साथै दक्ष जनशक्ति विकास र अन्तर्राष्ट्रिय स्तरअनुरूप सेवा प्रणाली कार्यान्वयनमा समेत यसले महत्वपूर्ण भूमिका खेल्ने अस्पतालको भनाइ छ।

अस्पतालका प्रबन्ध निर्देशकले “ISO 9001:2015 प्रमाणीकरण हाम्रो अस्पतालका लागि केवल उपलब्धि मात्र नभई गुणस्तरीय सेवा, व्यवस्थित प्रणाली तथा निरन्तर सुधारप्रतिको प्रतिबद्धताको प्रमाण हो,” भन्दै बिरामीलाई अझ सुरक्षित, व्यवस्थित तथा सम्मानजनक स्वास्थ्य सेवा प्रदान गर्न संस्था निरन्तर प्रतिबद्ध रहने बताएका छन्।

अस्पताल नेतृत्वले ISO प्रमाणीकरणलाई सम्मानसँगै जिम्मेवारीका रूपमा लिएको उल्लेख गर्दै सुरक्षित, भरपर्दो तथा उच्च गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा शिक्षामा उत्कृष्टता कायम राख्न संस्था निरन्तर प्रयासरत रहने जनाएको छ।

Leave A Reply

Your email address will not be published.