नेपाल पत्रकार महासंघ पर्सामा बेथितिविरुद्ध पत्रकारहरूको दबाब, ४ बुँदे मागसहित ज्ञापनपत्र

37

वीरगञ्ज, १२ जेठ । नेपाल पत्रकार महासंघ पर्सा शाखामा देखिएको बेथिति, अपारदर्शिता तथा संस्थागत मर्यादामाथि प्रश्न उठाउँदै पत्रकारहरूको एक समूहले ४ बुँदे मागसहित ज्ञापनपत्र बुझाएको छ।

पत्रकारहरूले ओमप्रकाश खनाल, श्याम बन्जारा तथा केसी लामिछाने लाई संयुक्त रूपमा ज्ञापनपत्र बुझाउँदै तीन दिनभित्र माग सम्बोधन गर्न आग्रह गरेका हुन्।

ज्ञापनपत्रमा महासंघको केन्द्रमा बुझाइएको सदस्यता शुल्क तथा आर्थिक विवरण सार्वजनिक गर्न, अघिल्लो कार्यसमितिबाट सम्पूर्ण प्रशासनिक तथा आर्थिक कागजात हस्तान्तरण गर्न, सदस्यता शुद्धीकरण प्रक्रिया पारदर्शी एवं विधिसम्मत ढंगले सञ्चालन गर्न तथा संस्थाको गरिमामा आँच पुग्ने गतिविधिमा संलग्न व्यक्तिमाथि छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

पत्रकारहरूले महासंघभित्र पारदर्शिता, जवाफदेहिता र विश्वसनीयता कायम राख्न सम्बन्धित पक्षले तत्काल आवश्यक कदम चाल्नुपर्ने बताएका छन्। मागपत्रमा उल्लेखित विषय तीन दिनभित्र सम्बोधन नभए थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने चेतावनीसमेत दिइएको छ।

सामूहिक रूपमा बुझाइएको उक्त ज्ञापनपत्रमा करिब तीन दर्जन पत्रकारहरूको हस्ताक्षर रहेको जनाइएको छ।

Leave A Reply

Your email address will not be published.