साउथ जोन माविमा निःशुल्क जनरल स्वास्थ्य शिविर सुरु, १८५० विद्यार्थीको स्वास्थ्य परीक्षण गरिने

40

वीरगञ्ज । गणतन्त्र दिवसको अवसर पारेर वीरगञ्ज महानगरपालिका–१३ स्थित साउथ जोन माध्यमिक विद्यालयमा विद्यार्थीहरूका लागि निःशुल्क जनरल स्वास्थ्य चेकजाँच शिविर सुरु गरिएको छ। तीन दिनसम्म सञ्चालन हुने उक्त शिविरमा विद्यालयका करिब १८५० जना विद्यार्थीहरूको स्वास्थ्य परीक्षण गरिने जनाइएको छ।

विद्यालयका प्रिन्सिपल सरोजप्रसाद चौधरीले विद्यार्थीहरूको नियमित स्वास्थ्य परीक्षण अत्यन्त आवश्यक रहेकाले विद्यालयले समय–समयमा यस्ता स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको बताए। उनले विद्यार्थी स्वस्थ भए मात्र पठनपाठनमा ध्यान केन्द्रित गर्न सक्ने उल्लेख गर्दै अभिभावकहरूले पनि आफ्ना बालबालिकाको बेलाबखत स्वास्थ्य परीक्षण गराइरहनुपर्ने सुझाव दिए।

उनका अनुसार धेरै अभिभावकले व्यस्तताका कारण बालबालिकालाई अस्पताल वा स्वास्थ्य संस्थासम्म लैजान समय नपाउने भएकाले विद्यालयमै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको हो। विद्यालयले यसअघि पनि आँखा, दन्त तथा अन्य स्वास्थ्य परीक्षण शिविर सञ्चालन गर्दै आएको जनाएको छ।

सहायक प्रिन्सिपल अशोक संग्रौलाका अनुसार शिविरमा डा. सुनिल कुमार, डा. आशुतोष झा, डा. मुकुन्द श्रीवास्तव, डा. उमेश कुमार कुशवाहा, डा. सन्नी फारुक अन्सारीलगायत चिकित्सकहरूको टोली सहभागी रहेको छ।

विद्यालयले आगामी दिनमा पनि विद्यार्थीहरूको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

Leave A Reply

Your email address will not be published.