प्रसौनी प्रिमियम लिग क्रिकेट प्रतियोगिता सुरु, युवामा खेल संस्कृतिको प्रवर्द्धन गर्ने लक्ष्य

71

वीरगञ्ज, जेठ १७ — वीरगञ्ज महानगरपालिका–२३ प्रसौनी बिर्तामा आइतबारदेखि चौथो संस्करणको “प्रसौनी प्रिमियम लिग–२०८३” क्रिकेट प्रतियोगिता सुरु भएको छ। युवामाझ खेलकुदको विकास, अनुशासन, आपसी सद्भाव तथा भाइचाराको भावना अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।

प्रतियोगिताको उद्घाटन वडा नम्बर २३ का वडा सदस्य लालबाबु यादवले गरेका हुन्। उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले खेलकुदले युवालाई सकारात्मक दिशातर्फ अग्रसर गराउने बताउँदै यस्ता प्रतियोगिताले समाजमा एकता र सद्भाव कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरे। साथै उनले वडा कार्यालयले खेलकुद क्षेत्रको विकासका लागि आगामी दिनमा पनि आवश्यक सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।

वडा नम्बर २३ को आर्थिक सहयोगमा सञ्चालन भएको प्रतियोगितामा प्रसौनी लायन्स, रोयल्स च्यालेन्जर्स बैरिया, राइजिङ स्टार तथा सफु किंग्स गरी चार टोली सहभागी छन्। सहभागी टोलीहरूबीच उपाधिका लागि प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।

कार्यक्रम संयोजक सुजित साहको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा नेकपा एमालेका नेता भोला यादव, नेपाली कांग्रेसका नेता धुरुप यादव, वडा सदस्य कान्ति देवी, युवा समाजसेवी फैयाज अन्सारी लगायत स्थानीय अगुवा, खेलप्रेमी तथा युवाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

उक्त अवसरमा वक्ताहरूले खेलकुदले युवालाई दुर्व्यसनबाट टाढा राख्न तथा स्वस्थ र सभ्य समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउन सक्ने बताएका थिए।

संयोजक साहका अनुसार फाइनल खेलबाहेक प्रतियोगिताका सबै खेल १६ ओभरमा खेलाइनेछन् भने फाइनल खेल २० ओभरको हुनेछ। प्रतियोगितालाई व्यवस्थित, प्रतिस्पर्धात्मक र आकर्षक बनाउन सम्पूर्ण तयारी पूरा भइसकेको उनले जानकारी दिए। प्रतियोगिता एक सातासम्म सञ्चालन हुने बताइएको छ।

स्थानीय युवाहरूको उत्साहजनक सहभागितासँगै सुरु भएको प्रतियोगिताले क्षेत्रीय क्रिकेट विकासमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ। उद्घाटन खेल अवलोकन गर्न स्थानीय दर्शकहरूको समेत उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण राकेश साहले गरेका थिए।

Leave A Reply

Your email address will not be published.