जी एच पी माध्यमिक विद्यालयद्वारा उत्कृष्ट विद्यार्थी र शिक्षकहरूको सम्मान, ४ जीपीएधारी ६ विद्यार्थीलाई ल्यापटप उपहार

266

वीरगञ्ज जेठ २७ , आनन्द पटेल 

जी एच पी माध्यमिक विद्यालय, वीरगञ्जले एसईई २०८२ मा उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीहरूलाई सम्मान गर्न आयोजना गरेको भव्य समारोहमा ४.० जीपीए प्राप्त ६ जना विद्यार्थीलाई ल्यापटप, प्रशंसापत्र तथा खादा ओढाएर सम्मान गरिएको छ। वीरगञ्जमा शैक्षिक क्षेत्रमा यति ठूलो स्तरको सम्मान कार्यक्रम विरलै हुने भएकाले कार्यक्रमको चौतर्फी प्रशंसा भइरहेको छ।

सम्मानित हुने विद्यार्थीहरूमा मेहविश हुमायूँ, प्रथम पटेल, सिद्धान्त गुप्ता, आकृति राय, बुद्धिप्रिया पाण्डेय र अलिना जैसवाल रहेका छन्। विद्यालयले उनीहरूको उत्कृष्ट उपलब्धिको कदर गर्दै ल्यापटप प्रदान गरेको हो।

त्यसैगरी, एसईई परीक्षामा उत्कृष्ट नतिजा दिलाउन महत्वपूर्ण योगदान पुर्‍याउने विषयगत शिक्षक तथा शिक्षिकाहरूलाई समेत नगद पुरस्कार, सम्मानपत्र र खादा ओढाएर सम्मान गरिएको थियो।

विद्यालयकी प्रधानाध्यापक रमीन्द्र कौरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वीरगञ्ज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाका प्रमुख आनन्द लामिछाने प्रमुख अतिथि तथा मानव सेवा आश्रमका संस्थापक एवं समाजसेवी देवेश मानव विशिष्ट अतिथिका रूपमा उपस्थित थिए।

प्रमुख अतिथि आनन्द लामिछानेले विद्यालयले उत्कृष्ट विद्यार्थीको सम्मान गरेर शिक्षा क्षेत्रमै सकारात्मक उदाहरण प्रस्तुत गरेको बताए। उनले यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई थप मेहनत गर्न प्रेरणा दिने उल्लेख गरे।

विशिष्ट अतिथि देवेश मानवले शिक्षा नै व्यक्तित्व निर्माण र समाज रूपान्तरणको आधार भएको बताउँदै सफलता हासिल गरेका विद्यार्थीहरूलाई बधाई दिए। उनले जीवनमा अनुशासन, परिश्रम र मानवताको भावना सँगै अघि बढ्न सुझाव दिए।

कार्यक्रममा लायन्स क्लब डिस्ट्रिक्ट ३२५ का डिस्ट्रिक्ट गभर्नर रामविहारी पाण्डे, समाजसेवी नुतन पोखरेल सरावगी, समाजसेविका तथा लायन्स क्लब सेन्ट्रल सिटी क्याबिनेट अफिसर गुडी जोशी, विद्यालयका निर्देशक शिव गुप्ता, सामाजिक कार्यकर्ता दिलीपराज कार्की, गुरुद्वारा सत्संगका उपाध्यक्ष अजित पाल सिंह, सामाजिक कार्यकर्ता पवनदीप कौर, यात्राडेलीका निर्देशक राम सराफ तथा क्रियाशील युवा पत्रकार मञ्च नेपालका अध्यक्ष एवं प्रतीक डेली समाचार अनलाइनका सम्पादक आनन्द पटेल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

वक्ताहरूले विद्यालयले विद्यार्थी तथा शिक्षक दुवैको सम्मान गरेर शिक्षाप्रति सम्मानको संस्कार विकास गरेको बताउँदै यस कार्यको प्रशंसा गरेका थिए। उनीहरूले यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई अझ बढी मेहनत गर्न र उत्कृष्ट नतिजा हासिल गर्न प्रेरित गर्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा कक्षा १० मा अध्ययनरत विद्यार्थी, अभिभावक, शिक्षक–शिक्षिका तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

विद्यालयका फाउन्डर जगप्रित सिंहको विशेष पहल तथा व्यवस्थापनमा सम्पन्न कार्यक्रम अत्यन्त व्यवस्थित, भव्य र प्रेरणादायी बनेको सहभागीहरूले बताएका छन्। कार्यक्रममा बोल्दै विद्यालय परिवारले आगामी दिनमा यसभन्दा अझ भव्य रूपमा उत्कृष्ट विद्यार्थीहरूको सम्मान गर्ने योजना रहेको जनाएको छ।

विद्यालयले यस प्रकारको सम्मानबाट विद्यार्थीहरूमा अध्ययनप्रति थप रुचि, जिम्मेवारी र प्रतिस्पर्धात्मक भावना विकास हुने विश्वास व्यक्त गरेको छ। वीरगञ्जमा शैक्षिक उपलब्धिको यति उच्च स्तरमा गरिएको सम्मानले अन्य विद्यालयहरूलाई समेत प्रेरणा दिने अपेक्षा गरिएको छ। विद्यालयको यस कार्यको चौतर्फी प्रशंसा भइरहेको छ।

Leave A Reply

Your email address will not be published.