वीरगञ्ज, असोज ३ । आनन्द पटेल
संविधान दिवस २०८३ को अवसरमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन), पर्साको आयोजनामा अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगिता ‘प्याब्सन वाणी प्रतिभा २०८३’ सम्पन्न भएको छ।
असोज ३ गते डीएभी स्कूल, परवानीपुरमा आयोजित प्रतियोगितामा पर्साका २८ विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो। विद्यार्थीहरूबीच वक्तृत्वकला, आत्मविश्वास, अभिव्यक्ति क्षमता तथा संवैधानिक विषयवस्तुबारे ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको प्याब्सन पर्साले जनाएको छ।
डीएभी स्कूलका प्रिन्सिपल राकेश मिश्राको संयोजनमा सम्पन्न कार्यक्रमको सभापतित्व प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरीले गर्नुभएको थियो। कार्यक्रममा जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद चापागाईं प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

कार्यक्रममा प्याब्सन मधेश प्रदेशका उपाध्यक्षद्वय पुरन प्रधान र इमामुद्दिन अहमद, प्याब्सन पर्साका वरिष्ठ सल्लाहकार प्रकाश उपाध्याय तथा सल्लाहकार हरिश्याम ठाकुर विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा प्याब्सन पर्साकी वरिष्ठ उपाध्यक्ष सुशीला साह, उपाध्यक्ष वीरेन्द्र यादव, प्याब्सन वीरगञ्जका सचिव अमित आलोक लगायतको उपस्थिति थियो।
प्रतियोगितामा ठाकुरराम बहुमुखी क्याम्पस तथा हरिखेतान बहुमुखी क्याम्पसका नेपाली विषयका उपप्राध्यापक कविराज सुवेदी र सिमरा स्थित विभिन्न कलेजमा नेपाली विषय अध्यापन गराउने शिक्षक हरिप्रसाद प्याकुरेल निर्णायक रहनुभएको थियो। दुवै निर्णायकले प्रदान गरेको १००–१०० अंक गरी कुल २०० पूर्णाङ्कका आधारमा प्रतियोगिताको नतिजा निर्धारण गरिएको थियो।

प्रतियोगितामा गौतम माध्यमिक विद्यालयकी रीत रौनियार १६२ अंक प्राप्त गर्दै प्रथम हुनुभयो। विद्यासदनकी अफ्रिना खातुन १५८ अंक सहित द्वितीय, द रोयल एकेडेमीकी नलिष्का प्रजापति १५७ अंक सहित तृतीय हुनुभयो। यस्तै, मुनलाइट माध्यमिक विद्यालयकी मनीषा चौधरी १५६ अंक सहित चौथो र डीएभी आरबी केडिया स्कूलकी सान्वी गुप्ता १५४ अंक सहित पाँचौँ हुनुभयो।
उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीहरूलाई ट्रफी, प्रमाणपत्र तथा मेडल सहित सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो।
बाढीपीडितलाई सहयोग गर्ने ५३ विद्यालय सम्मानित_
कार्यक्रमकै अवसरमा रसुवामा आएको बाढीबाट प्रभावित परिवारहरूको राहत तथा उद्धारका लागि सहयोग गर्ने प्याब्सनमा आबद्ध ५३ वटा विद्यालयलाई सम्मान गरिएको थियो।
केन्द्रीय प्याब्सनको आह्वानमा प्याब्सन पर्साको समन्वयमा विद्यालयहरूले उपलब्ध गराएको सहयोगप्रति आभार व्यक्त गर्दै सम्बन्धित विद्यालयका सञ्चालक, अभिभावक तथा विद्यार्थीहरूलाई सम्मानपत्र प्रदान गरिएको हो।
बाढीपीडितका लागि सहयोग रकम उपलब्ध गराउने विद्यालय परिवारलाई सम्मान गर्दै विपद्को समयमा मानवीय सहयोग, सामाजिक उत्तरदायित्व र सामूहिक सहकार्यको भावनाको प्रशंसा गरिएको थियो।
प्याब्सन पर्साका जिल्ला सचिव अशोक सङ्ग्रौलाद्वारा जारी जानकारी अनुसार, संविधान दिवसका अवसरमा आयोजित वक्तृत्वकला प्रतियोगिताले विद्यार्थीहरूलाई आफ्ना विचार स्पष्ट र प्रभावकारी ढंगले प्रस्तुत गर्ने अवसर प्रदान गर्नुका साथै सार्वजनिक वक्तृत्वकलामा प्रतिभा प्रस्फुटन गर्न महत्वपूर्ण भूमिका खेलेको छ।
कार्यक्रममा दी रोयल एकाडेमी स्कुलकी प्रिन्सिपल विजया ओझईया, विभिन्न स्कूलका प्रिन्सिपल, शिक्षक, शिक्षिका सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो।