ज्ञानदा एकेडेमीमा ‘संविधान कप–२०२६’ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सुरु

36

वीरगन्ज, असोज आनन्द पटेल ३ ।

संविधान दिवसको अवसरमा वीरगन्ज स्थित ज्ञानदा एकेडेमीमा चौथो सिजनको अन्तरविद्यालय बास्केटबल प्रतियोगिता ‘संविधान कप–२०२६’ भव्य रूपमा सुरु भएको छ।

इन्टरयाक्ट क्लब अफ ज्ञानदा एकेडेमीको आयोजना तथा रोटरी/रोट्रयाक्टको सहयोगमा आयोजित दुईदिने प्रतियोगिताको आज एक विशेष समारोहबीच उद्घाटन गरिएको हो। प्रतियोगिताको फाइनल तथा समापन खेल असोज ४ गते हुने आयोजकले जनाएको छ।

कार्यक्रमका सभापति राजेन्द्र प्रसाद कोइरालाले स्वागत मन्तव्य व्यक्त गर्दै विद्यार्थीको शारीरिक, मानसिक तथा सामाजिक विकासमा खेलकुदको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो।

उद्घाटन समारोहमा प्रमुख अतिथिका रूपमा रोट्रयाक्ट क्लब अफ वीरगन्जका अध्यक्ष राकेश मिश्र तथा डिएभी केडिया स्कुलका प्रधानाध्यापकको उपस्थिति रहेको थियो। रोट्रयाक्ट तथा सिनियर कोअर्डिनेटर स्वर्णिम क्षेत्रीको संयोजन तथा व्यवस्थापनमा सम्पन्न कार्यक्रममा ज्ञानदा एकेडेमीकी भाइस प्रिन्सिपल जागृति मिश्र, एकेडेमिक हेड सन्ध्या वशिष्ठ, प्राइमरी कोअर्डिनेटर शालिनी श्रीवास्तव तथा बास्केटबल प्रशिक्षक राम विनयको विशेष उपस्थिति रहेको थियो।

प्रतियोगितामा वीरगन्ज र आसपासका क्षेत्रका ६ विद्यालय सहभागी छन्। सहभागी विद्यालयमा ज्ञानदा एकेडेमी, वीरगन्ज; डिएभी केडिया स्कुल, वीरगन्ज; बाल एकता स्कुल, कलैया; श्री त्रिचन्द्र स्कुल, कलैया; ग्यालेक्सी पब्लिक स्कुल, कलैया र सेन्ट अल्फोन्सा स्कुल, सिमरा रहेका छन्।

प्रतियोगिताको पहिलो दिन भएको खेलमा श्री त्रिचन्द्र स्कुलले पहिलो खेल जित्दै विजयी सुरुआत गरेको छ भने दोस्रो खेलमा बाल एकता स्कुलले उत्कृष्ट प्रदर्शन गर्दै जित हात पारेको छ।

दुई दिनसम्म सञ्चालन हुने प्रतियोगिताको फाइनल खेल तथा समापन समारोह असोज ४ गते आयोजना गरिने आयोजकले जनाएको छ।

Leave A Reply

Your email address will not be published.