वीरगञ्जमा ‘ट्राफिक जनचेतना मूलक सप्ताह–२०८३’ सुरु, सडक सुरक्षा र दुर्घटना न्यूनीकरणमा जोड

51

वीरगञ्ज, पर्सा — सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन गर्ने उद्देश्यले पर्सा जिल्लामा ‘ट्राफिक जनचेतनामूलक सप्ताह कार्यक्रम–२०८३’ सुरु गरिएको छ।

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया, जिल्ला प्रहरी कार्यालय पर्सा तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय वीरगञ्जको संयुक्त आयोजनामा बुधबारदेखि सप्ताहव्यापी अभियान प्रारम्भ गरिएको हो।

कार्यक्रमको उद्घाटन सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले गरेका थिए। उद्घाटन समारोहमा सुरक्षा निकायका अधिकारी, सामाजिक संघसंस्था, शिक्षण संस्थाका प्रतिनिधि तथा नागरिक समाजका अगुवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

सप्ताह अन्तर्गत आयोजित जनचेतनामूलक र्‍याली वीरगञ्ज को घण्टाघरबाट सुरु भई लिंक रोड, बसपार्क र भानुचोक हुँदै पुनः घण्टाघरमा पुगेर सम्पन्न भएको थियो। र्‍यालीमा सहभागीहरूले ट्राफिक नियमको पालना, सुरक्षित यात्रा तथा सडक दुर्घटना न्यूनीकरणसम्बन्धी सन्देश अंकित प्लेकार्ड प्रदर्शन गरेका थिए।

नेपाल स्काउटका सदस्य तथा विभिन्न विद्यालयका विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको र्‍यालीमार्फत हेल्मेट र सिटबेल्टको अनिवार्य प्रयोग, मदिरा सेवन गरी सवारी साधन नचलाउने तथा पैदलयात्रीको सुरक्षामा विशेष ध्यान दिनुपर्ने सन्देश प्रवाह गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक युवराज कटवालले सडक सुरक्षा सुनिश्चित गर्न ट्राफिक प्रहरीको प्रयास मात्र पर्याप्त नहुने बताए। उनले चालक, यात्रु, पैदलयात्री तथा आम नागरिक सबैले ट्राफिक नियमको पालनामा जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।

उनका अनुसार सप्ताहव्यापी अभियानअन्तर्गत विद्यालय, सार्वजनिक स्थल तथा सवारी चालकलाई लक्षित गरी सचेतनामूलक कार्यक्रम, अन्तरक्रिया, पर्चा वितरण तथा ट्राफिक नियमसम्बन्धी विशेष अभियान सञ्चालन गरिनेछ।

यस अभियानले नागरिकमा सडक सुरक्षाप्रतिको जिम्मेवारीबोध अभिवृद्धि गर्दै ट्राफिक नियम पालनाको संस्कार विकास गर्न तथा दुर्घटना न्यूनीकरणमा सकारात्मक योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

Leave A Reply

Your email address will not be published.