रुसको प्रस्ताव : वीरगञ्ज चिनी कारखाना र जनकपुर चुरोट कारखाना पुनः सञ्चालनमा सहयोग गर्न तयार
काठमाडौं, असार ३ । आनन्द पटेल
नेपालका लागि रुसी महासंघका आवासीय राजदूत एलेक्सी भ्लादिमिरोविच सुरोभत्सेभले वीरगञ्ज चिनी कारखाना र जनकपुर चुरोट कारखाना लगायतका बन्द औद्योगिक प्रतिष्ठान पुनः सञ्चालन गर्न रुस तयार रहेको बताउनुभएको छ।
बुधबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा सम्माननीय उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग भएको शिष्टाचार भेटवार्ताका क्रममा राजदूत सुरोभत्सेभले नेपाल सरकारबाट औपचारिक अनुरोधसहित आवश्यक सूची प्राप्त भएमा ती उद्योगहरूलाई पुनः सञ्चालन योग्य बनाउन रुसी पक्षले सहयोग गर्न सक्ने धारणा राख्नुभएको हो।
भेटवार्तामा नेपाल–रुस सम्बन्धका विविध पक्षबारे छलफल भएको थियो। उपराष्ट्रपति यादवले सन् १९५६ देखि नेपाल र रुसबीच कायम मैत्रीपूर्ण सम्बन्धको स्मरण गर्दै यस वर्ष कूटनीतिक सम्बन्धको ७०औँ वर्ष पूरा हुन लागेको उल्लेख गर्नुभयो। उहाँले सोभियत संघ कालदेखि मानव संसाधन विकास, पर्यटन, उद्योग तथा यातायात पूर्वाधार निर्माणमा रुसले पुर्याएको योगदानको प्रशंसा गर्नुभयो।

राजदूत सुरोभत्सेभले जलविद्युत, कृषि, चिकित्सा तथा भौतिक पूर्वाधारका क्षेत्रमा नेपालसँग सहकार्य विस्तार गर्न रुस इच्छुक रहेको बताउनुभयो। विशेषगरी विगतमा रुसी सहयोगसँग जोडिएका वीरगञ्ज चिनी कारखाना र जनकपुर चुरोट कारखानाजस्ता उद्योग पुनर्जीवनका लागि आवश्यक सहयोग गर्न तयार रहेको अभिव्यक्तिलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
उद्योग सञ्चालनको यो प्रस्ताव कार्यान्वयनमा आएमा लामो समयदेखि बन्द रहेका उद्योगहरूको पुनरुत्थान, रोजगारी सिर्जना तथा औद्योगिक उत्पादन वृद्धिमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।