पत्रकारिता पदका लागि होइन, समाजप्रतिको जिम्मेवारीका लागि हो : प्रशिक्षक धर्मेन्द्र झा
वीरगञ्ज । मिडिया काउन्सिल मधेश प्रदेश, जनकपुरधामको आयोजनामा “स्वच्छ, विश्वसनीय र मर्यादित पत्रकारिताका लागि आचारसंहिता सम्बन्धी अभिमुखीकरण कार्यक्रम” बिहीबार वीरगञ्जस्थित होटल वृन्दावनमा सम्पन्न भएको छ।
मधेश प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउतको प्रमुख आतिथ्य तथा मिडिया काउन्सिल मधेश प्रदेशकी कार्यवाहक अध्यक्ष बन्दना झाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।
उद्घाटन सत्रमा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव अशोक तिवारी, लेखा समिति संयोजक केसी लामिछाने, मधेश प्रदेश अध्यक्ष श्याम बन्जारा, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश तथा विश्व पत्रकार महासंघका दिपेन्द्र चौहानले पत्रकारिताको वर्तमान अवस्था, चुनौती तथा आचारसंहिताको प्रभावकारी कार्यान्वयनका विषयमा धारणा राखेका थिए।
कार्यक्रममा वरिष्ठ पत्रकार धर्मेन्द्र झाले सहभागी सञ्चारकर्मीलाई पत्रकारिता आचारसंहिताबारे प्रशिक्षण दिएका थिए। उनले पत्रकारिता केवल पेशा वा पदका लागि नभई समाजप्रतिको दायित्व र उत्तरदायित्व वहन गर्ने माध्यम भएको बताए।

उनले पत्रकारिताको सही मूल्याङ्कन आमजनताबाट हुने भएकाले पत्रकारिता जनमुखी, निष्पक्ष र विश्वसनीय हुनुपर्नेमा जोड दिए। समाचार दर्शक वा पाठकको ध्यान तान्ने उद्देश्यले मात्र नभई आमपाठकको रुचि, विश्वास र समाजको हितलाई केन्द्रमा राखेर सम्प्रेषण गर्नुपर्ने उनको भनाइ थियो।
झाले पत्रकारहरूले संवेदनशील विषयमा समाचार तयार गर्दा थप जिम्मेवार बन्नुपर्ने सुझाव दिँदै सत्यता, तथ्यपरकता, निष्पक्षता, स्रोतको गोपनीयता र सामाजिक उत्तरदायित्वलाई पत्रकारिताको मूल आधार मान्नुपर्ने बताए। साथै डिजिटल युगमा फैलिने गलत सूचना तथा भ्रामक सामग्री नियन्त्रण गर्न सञ्चारकर्मीले विशेष सावधानी अपनाउनुपर्ने धारणा व्यक्त गरे।
अभिमुखीकरणका क्रममा पत्रकार आचारसंहिताको प्रभावकारी कार्यान्वयन, तथ्यमा आधारित समाचार सम्प्रेषण, सामाजिक सञ्जालको जिम्मेवार प्रयोग तथा जिम्मेवार सञ्चार अभ्यासका विषयमा विस्तृत जानकारी गराइएको थियो।

कार्यक्रममा पर्सा जिल्लाका विभिन्न सञ्चारमाध्यममा आबद्ध ८० भन्दा बढी पत्रकार तथा सञ्चारकर्मीको सहभागिता रहेको थियो। सहभागीहरूले यस्ता कार्यक्रमले पत्रकारिताको व्यावसायिक दक्षता अभिवृद्धि गर्नुका साथै जिम्मेवार र मर्यादित सञ्चार अभ्यास प्रवर्द्धन गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका थिए।
मिडिया काउन्सिल मधेश प्रदेशले प्रदेशभरका सञ्चारकर्मीहरूको क्षमता अभिवृद्धि गर्दै पत्रकारितालाई थप उत्तरदायी, मर्यादित र विश्वसनीय बनाउन यस्ता अभिमुखीकरण कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।