भारतको महावाणिज्य दूतावास वीरगञ्जद्वारा पोखरियामा १२औँ अन्तर्राष्ट्रिय योग दिवस कार्यक्रम सम्पन्न
पोखरिया, असार ४
भारतको महावाणिज्य दूतावास, वीरगञ्जले पोखरिया नगरपालिका तथा रानीगञ्ज आयुर्वेद अस्पतालको सहकार्यमा पर्साको पोखरियास्थित श्री जिल्ला उच्चाङ्गल रामदेव कलवार माध्यमिक विद्यालयमा १२औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा विशेष योग कार्यक्रम आयोजना गरेको छ।
“स्वस्थ वृद्धावस्थाका लागि योग” भन्ने मूल नारासहित आयोजित कार्यक्रममा विद्यार्थीसहित ३५० भन्दा बढी योगप्रेमी सहभागी भएका थिए। कार्यक्रममा योगमार्फत स्वास्थ्य, सद्भाव र समग्र कल्याणको सन्देश प्रवाह गरिएको थियो। विशेषगरी विद्यालयस्तरका विद्यार्थीहरूलाई कम उमेरदेखि नै योगका लाभबारे जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको महावाणिज्य दूतावासले जनाएको छ।

कार्यक्रममा मधेश प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री माननीय श्याम प्रसाद पटेल प्रमुख अतिथिका रूपमा सहभागी थिए। पोखरिया नगरपालिकाका प्रमुख प्रद्युम्न प्रसाद चौहान, उपप्रमुख तथा पूर्व नगरप्रमुखलगायतको पनि उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै भारतका महावाणिज्य दूत देवी सहाय मीणाले स्वस्थ जीवनशैली, मानसिक शान्ति तथा समग्र स्वास्थ्यका लागि योगलाई दैनिक जीवनको अभिन्न अंग बनाउन आग्रह गरे। प्रमुख अतिथि मन्त्री पटेल तथा नगरप्रमुख चौहानले विभिन्न स्थानमा योगसम्बन्धी कार्यक्रम सञ्चालन गरी जनचेतना अभिवृद्धि गर्न महावाणिज्य दूतावासले खेलेको भूमिकाको प्रशंसा गरे।

सामूहिक योग अभ्याससहित सम्पन्न कार्यक्रममा सहभागीहरूले योगलाई दैनिक जीवनमा अपनाउने प्रतिबद्धता व्यक्त गरेका थिए। यो कार्यक्रम महावाणिज्य दूतावासले अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सञ्चालन गरिरहेको कार्यक्रम श्रृंखलाअन्तर्गतको चौथो कार्यक्रम हो।