वीरगञ्ज । वीरगञ्जको प्रगतिनगरस्थित सेस्मी इन्टरनेशनल स्कुलका विद्यार्थीहरूले सामाजिक उत्तरदायित्वअन्तर्गत पैदलयात्रीहरूलाई चिसो सर्बत वितरण गरेका छन्।
विद्यालय प्रशासनको समन्वयमा शुक्रबार बिहान प्रगतिनगर चौक क्षेत्रमा आयोजित कार्यक्रममा विद्यार्थीहरूले सडकमा हिँडिरहेका सर्वसाधारणलाई चिसो सर्बत वितरण गरेका थिए। कार्यक्रममा करिब ३०० भन्दा बढी पैदलयात्री लाभान्वित भएका थिए।
विद्यार्थीहरूले समाजका लागि सकारात्मक कार्य गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताएका छन्। विद्यालयकी प्रधानाध्यापिका आशमा सिंह यादवले अत्यधिक गर्मीको समयमा बाटोमा हिँड्ने सर्वसाधारणलाई केही राहत पुर्याउने उद्देश्यले सर्बत वितरण गरिएको बताइन्।

उनले यस्ता कार्यक्रमले विद्यार्थीहरूमा स्वच्छता, स्वास्थ्य सचेतना, आपसी सद्भाव, पानीको महत्त्व तथा सामाजिक चेतनाको विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिन्।
कार्यक्रमप्रति स्थानीयवासीहरूले समेत प्रशंसा व्यक्त गर्दै विद्यार्थीहरूको यस पहलले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको प्रतिक्रिया दिएका छन्।