मनसुनी गतिविधि सक्रिय : आज र भोलि देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना

27

१६ असार, काठमाडौँ । देशभर मनसुनी वायु सक्रिय भएसँगै आज र भोलि नेपालका विभिन्न स्थानमा मुसलधारे वर्षाको सम्भावना बढेको छ। जल तथा मौसम विज्ञान विभाग ले दुई दिन अघि नै विशेष बुलेटिन जारी गर्दै देशका अधिकांश भूभागमा भारी वर्षा हुन सक्ने भन्दै आवश्यक सावधानी र पूर्वतयारी अपनाउन आग्रह गरेको छ।

विभागका अनुसार बङ्गालको खाडी मा विकसित भएको न्यूनचापीय प्रणालीका कारण नेपालतर्फ जलवाष्पयुक्त हावाको प्रवाह बढ्दै गएको छ, जसले मनसुनी गतिविधिलाई थप सक्रिय बनाएको छ।

मौसम पूर्वानुमान महाशाखा का अनुसार आज र भोलि मधेस प्रदेश, कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश का पहाडी तथा तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ। यी प्रदेशका एक–दुई स्थानमा अत्यधिक वर्षा समेत हुन सक्ने विभागले जनाएको छ।

यसैबीच, देशका पहाडी तथा तराई भूभागका धेरै स्थान र हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम स्तरको वर्षा जारी रहने प्रक्षेपण गरिएको छ।

जलवायुविज्ञ धर्मराज उप्रेती का अनुसार मनसुनी वायु विशेषगरी लुम्बिनी र सुदूरपश्चिम क्षेत्रमा केन्द्रित हुँदै गएको छ। सामाजिक सञ्जालमार्फत जानकारी दिँदै उनले बिजुली चम्किने घनत्व लुम्बिनी, पश्चिम चुरे र तराई क्षेत्रमा बढी देखिएको उल्लेख गरेका छन्।

उनका अनुसार सुदूरपश्चिमको हनुमाननगर क्षेत्रमा पछिल्लो ६ घण्टामै १०९ मिलिमिटर वर्षा रेकर्ड भइसकेको छ। लुम्बिनीको पश्चिमी भूभागदेखि सुदूरपश्चिमसम्म आज राति र भोलि बिहान थप बढी वर्षा हुने पूर्वानुमान गरिएको छ। यद्यपि, मध्य मधेस क्षेत्रमा आगामी दुई दिन ठूलो वर्षाको सम्भावना नरहेको उनले स्पष्ट पारेका छन्।

लगातारको वर्षाका कारण पहाडी भूभागमा भूक्षय तथा पहिरोको जोखिम बढेको छ भने तराई र सहरी क्षेत्रमा डुबानको खतरा समेत उच्च रहेको छ। ठूला तथा साना नदी, खोल्सा र नालाहरूमा पानीको सतह अचानक बढ्न सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।

विभागले सम्भावित प्राकृतिक विपद्का कारण दैनिक जनजीवन, कृषि, जनस्वास्थ्य तथा पर्यटन क्षेत्र प्रभावित हुन सक्ने चेतावनी दिएको छ। साथै नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा भइरहेका निर्माण कार्य रोक्न, तथा सडक र हवाई यातायात प्रभावित हुन सक्ने भएकाले सम्बन्धित निकाय र सर्वसाधारणलाई आवश्यक सतर्कता र पूर्वतयारीमा जुट्न अपिल गरेको छ।

Leave A Reply

Your email address will not be published.