मधेशका बजारमा बिक्री हुने आँपमा प्रतिबन्धित क्याल्सियम कार्बाइड प्रयोग नभएको पुष्टि

46

१६ असार, काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मधेश प्रदेशका विभिन्न जिल्लामा गरेको विशेष बजार अनुगमनका क्रममा बजारमा बिक्रीका लागि राखिएका आँपहरूमा प्रतिबन्धित रासायनिक पदार्थ क्याल्सियम कार्बाइड प्रयोग नभएको स्पष्ट पारेको छ।

उपभोक्ताको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै विभागले सिरहाको लहान, सर्लाहीको नवलपुर र लालबन्दी तथा रौतहटका चन्द्रपुर र गौरस्थित थोक तथा खुद्रा फलफूल बजार र गोदामहरूमा स्थलगत निरीक्षण तथा अनुगमन गरेको थियो। अनुगमनका क्रममा आँप पकाउने प्रक्रियादेखि भण्डारण र बिक्री वितरणसम्मका पक्षहरूको समेत अध्ययन गरिएको विभागले जनाएको छ।

विभागका अनुसार निरीक्षणका क्रममा व्यवसायीहरूले आँप पकाउनका लागि प्रतिबन्धित क्याल्सियम कार्बाइड वा अन्य गैरकानुनी रसायन प्रयोग नगरेको पाइएको छ। पछिल्ला वर्षहरूमा कृत्रिम रूपमा फलफूल पकाउन यस्ता रसायन प्रयोग हुने गरेको आशंकाका बीच गरिएको अनुगमनले उपभोक्तामा केही राहत दिएको विभागको भनाइ छ।

अनुगमन टोलीले फलफूलसँगै तरकारीको गुणस्तर परीक्षणसमेत गरेको थियो। असार ३ गते सर्लाहीका स्थानीय बजारहरूबाट संकलन गरिएका तरकारी तथा फलफूलका नमुनाहरूको द्रुत विषादी अवशेष परीक्षण (आरबीपीआर) गर्दा सबै नमुना सुरक्षित तथा तोकिएको मापदण्डअनुकूल भेटिएको विभागले जानकारी दिएको छ।

विभागका अनुसार परीक्षणको नतिजाले बजारमा उपलब्ध मौसमी फलफूल तथा तरकारीहरू उपभोक्ताका लागि उपभोगयोग्य रहेको पुष्टि गरेको छ। साथै बजारमा खाद्य स्वच्छता तथा गुणस्तर कायम राख्न व्यवसायीहरूलाई आवश्यक निर्देशनसमेत दिइएको छ।

विभागले व्यवसायीहरूलाई आयातित फलफूल खरिद तथा बिक्री गर्दा अनिवार्य रूपमा लेबल वा स्टिकर भएको फलफूल मात्र कारोबार गर्न आग्रह गरेको छ। त्यसैगरी फलफूल पकाउन आवश्यक परेमा सरकारद्वारा स्वीकृत रिपेनिङ एजेन्ट मात्र प्रयोग गर्न निर्देशन दिइएको छ।

स्वीकृत रिपेनिङ एजेन्ट प्रयोग गर्दा पनि रसायन फलफूलसँग प्रत्यक्ष सम्पर्कमा नआउने गरी सुरक्षित विधि अपनाउन तथा भण्डारण, ढुवानी र बिक्रीका क्रममा खाद्य स्वच्छताको मापदण्ड पूर्ण रूपमा पालना गर्न विभागले सचेत गराएको छ।

विभागले आगामी दिनमा पनि बजार अनुगमनलाई निरन्तरता दिँदै उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पुर्‍याउने खालका गतिविधिमाथि कडा निगरानी राखिने जनाएको छ।

Leave A Reply

Your email address will not be published.