सुनसरी घटनामा प्याब्सन वीरगञ्ज अध्यक्ष राहुल श्रीवास्तवको अपिल: ‘धार्मिक सद्भाव कायम राखौँ, दोषीलाई कडा कारबाही गरियोस्

67

वीरगञ्ज, साउन १४। प्याब्सन वीरगञ्जका अध्यक्ष राहुल श्रीवास्तवले सुनसरी जिल्लामा हालै भएको धार्मिक द्वन्द्वको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र आपसी सम्मान कायम राख्न सबै पक्षसँग अपिल गरेका छन्।

शुक्रबार जारी गरेको विज्ञप्तिमा अध्यक्ष श्रीवास्तवले नेपाल विविधताभित्रको एकताको उदाहरण भएको उल्लेख गर्दै हिन्दु, मुस्लिम लगायत सबै धर्मका नागरिकबीच शताब्दीयौँदेखि कायम रहेको सहअस्तित्वलाई कमजोर पार्ने कुनै पनि गतिविधि स्वीकार्य नहुने बताएका छन्।

उनले भावनामा बहकिएर वा अफवाहका आधारमा हिंसात्मक गतिविधिमा संलग्न नहुन आग्रह गर्दै सुनसरीको घटनालाई एउटा जिल्लाको मात्र नभई सम्पूर्ण राष्ट्रको सामाजिक सद्भावमाथिको चुनौतीका रूपमा लिनुपर्ने बताएका छन्।

घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका श्रीवास्तवले दोषी जो–कोही भए पनि निष्पक्ष अनुसन्धान गरी कानुनी दायरामा ल्याई कडा कारबाही गर्न सरकारसँग माग गरेका छन्। न्याय सुनिश्चित भए मात्र दीर्घकालीन शान्ति सम्भव हुने उनको भनाइ छ।

उनले सरकार तथा सम्बन्धित निकायलाई घटनाको शीघ्र, निष्पक्ष र गहिरो अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्न आग्रह गर्दै ढिलासुस्ती वा राजनीतिकरणले समाजमा अविश्वास बढाउने चेतावनी दिएका छन्।

अध्यक्ष श्रीवास्तवले वर्तमान अवस्थामा विभाजन भन्दा संवाद, आक्रोश भन्दा समझदारी आवश्यक रहेको उल्लेख गर्दै सामाजिक सञ्जाल मार्फत फैलाइने अफवाह र घृणापूर्ण सामग्रीबाट सचेत रहन सबै नागरिकसँग आग्रह गरेका छन्।

साथै उनले सम्पूर्ण हिन्दु तथा मुस्लिम समुदायलाई शान्ति, संयमता र आपसी सम्मान कायम राख्दै सामाजिक सद्भाव सुदृढ बनाउन एकजुट हुन अपिल गरेका छन्। उनका अनुसार राष्ट्रको स्थायित्व, समृद्धि र उज्ज्वल भविष्यका लागि राष्ट्रिय एकता नै सबै भन्दा ठूलो शक्ति हो।

Leave A Reply

Your email address will not be published.