पत्रकारसँग एसपी भट्टराईको संवाद, नागरिक सेवा र शान्ति सुरक्षालाई प्राथमिकता दिने प्रतिबद्धता

44

वीरगञ्ज, २९ साउन आनन्द पटेल । जिल्ला प्रहरी कार्यालय पर्साले शुक्रबार नव आगन्तुक प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईसँग पत्रकारहरूको परिचयात्मक तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साको आयोजनामा भएको कार्यक्रम एसपी भट्टराईको अध्यक्षतामा सम्पन्न भएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै एसपी भट्टराईले जिल्ला प्रहरी कार्यालय प्रहरी कर्मचारीको मात्र नभई आम नागरिक, समाजसेवी, बुद्धिजीवी, महिला तथा विभिन्न क्षेत्रका नागरिकको साझा कार्यालय भएको बताए। प्रहरी नागरिकको सेवाका लागि रहेको उल्लेख गर्दै उनले प्रहरी र नागरिकबीचको सम्बन्ध अझ मजबुत बनाउँदै सेवा प्रवाहलाई प्रभावकारी बनाउने आफ्नो प्राथमिकता रहेको बताए।

उनले पर्सामा शान्ति सुरक्षा कायम गर्नुका साथै सामाजिक सद्भावलाई मजबुत बनाउन आफ्नो नेतृत्वको प्रहरी टोली सक्रिय भएर काम गर्ने बताए। सेवाग्राहीले प्रहरी कार्यालयमा लिएर आउने समस्या तथा गुनासोलाई सकेसम्म छिटोछरितो र प्रभावकारी ढंगले सम्बोधन गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे।

एसपी भट्टराईले भने, “हामी यहाँ आम नागरिकको सेवा गर्न आएका हौँ। नागरिकले प्रहरीबाट सहज, निष्पक्ष र प्रभावकारी सेवा पाउनुपर्छ भन्ने हाम्रो प्राथमिकता हो।”

प्रहरी र पत्रकारबीचको सहकार्यले समाजमा सकारात्मक प्रभाव पार्ने उल्लेख गर्दै उनले प्रहरी प्रशासन र सञ्चार माध्यमबीच निरन्तर समन्वय र सहकार्य आवश्यक रहेको बताए। समाजमा हुने गतिविधि तथा सुरक्षा अवस्थाबारे नागरिकलाई सही सूचना उपलब्ध गराउन सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहेको भन्दै उनले पत्रकारहरूलाई तथ्य र प्रमाणमा आधारित समाचार सम्प्रेषण गर्न आग्रह गरे।

अन्तर्क्रियाका क्रममा विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरूले पर्साको वर्तमान सुरक्षा अवस्था, तस्करी नियन्त्रण, चोरी–पैठारी, महिला हिंसा, लागुऔषध नियन्त्रण, प्रहरीबाट नागरिकलाई उपलब्ध गराइने सेवा–सुविधा तथा प्रहरी कार्यालयमा आउने सेवाग्राहीका गुनासो लगायत विषयमा एसपी भट्टराईसँग प्रश्न गरेका थिए।

पत्रकारहरूले जिल्लामा देखिएका सुरक्षा चुनौती, सीमावर्ती क्षेत्रमा हुने अवैध गतिविधि तथा नागरिकले प्रहरीबाट अपेक्षा गरेका सेवाका विषयमा समेत ध्यानाकर्षण गराएका थिए। पत्रकारहरूले उठाएका विषयलाई गम्भीरता पूर्वक लिँदै एसपी भट्टराईले समस्याको प्रकृति र अवस्थाबारे अध्ययन गरी सुधारका लागि आवश्यक कदम चाल्ने बताए।

उनले पर्साको सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन प्रहरीको आन्तरिक व्यवस्थापनसँगै नागरिक र सरोकारवाला निकायसँगको सहकार्यलाई समेत प्राथमिकता दिने बताए। प्रहरीको काममा सञ्चारमाध्यमबाट हुने रचनात्मक सुझाव र खबरदारीलाई सकारात्मक रूपमा लिने उनको भनाइ थियो।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा संयोजक केसी लामिछाने, मधेश प्रदेश अध्यक्ष श्याम बञ्जारा, पूर्वकेन्द्रीय सचिव दीपेन्द्र चौहान, पर्सा शाखा अध्यक्ष ओमप्रकाश खनाल, प्रहरी नायब उपरीक्षक तथा सुचना अधिकारी चक्रबहादुर मल्ल, राजु कार्की लगायत प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो।

त्यस्तै, कार्यक्रममा पर्सामा क्रियाशील विभिन्न सञ्चारमाध्यमका पत्रकारहरूको समेत सहभागिता रहेको थियो। कार्यक्रमले नयाँ प्रहरी नेतृत्व र सञ्चारकर्मीबीच परिचयसँगै जिल्लाको शान्ति सुरक्षा तथा नागरिक सेवाका विषयमा आगामी दिनमा सहकार्य र समन्वय गर्ने आधार तयार गरेको सहभागीहरूले बताएका छन्।

Leave A Reply

Your email address will not be published.