पार्टी हितविपरीत गतिविधि गरेको भन्दै नेकपाका दुई नेता एक वर्षका लागि निलम्बित

59

वीरगञ्ज । पार्टीको नीति, सिद्धान्त तथा विधानविपरीत गतिविधि गरेको भन्दै नेपाली कम्युनिष्ट पार्टीले आफ्ना दुई केन्द्रीय सदस्यलाई    एक वर्षका लागि निलम्बन गरेको छ।

निलम्बनमा पर्नेमा रामबाबु बैठा र रामदरेश कुशवाहा रहेका छन्। पार्टीले उनीहरूलाई एक वर्षका लागि पार्टीका सबै पद तथा साधारण सदस्यता समेतबाट निलम्बन गरेको जनाएको छ।

पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह संयोजक माधवकुमार नेपालले छुट्टाछुट्टै जारी गरेको कारबाही पत्रमा बैठा र कुशवाहाले पार्टीको नीति, सिद्धान्त तथा विधान, २०८२ ले निर्दिष्ट गरेको अनुशासन र आचरण उल्लङ्घन गरेको उल्लेख गरिएको छ।

पार्टी हितविपरीत गतिविधि गरेको विषयमा मधेश प्रदेश समिति मार्फत उनीहरूसँग स्पष्टीकरण मागिएको थियो। तर, दुवै नेताले दिएको स्पष्टीकरण सन्तोष जनक र चित्तबुझ्दो नभएको तथा प्रदेश समितिको सिफारिसका आधारमा निलम्बनको निर्णय गरिएको पार्टीले जनाएको छ।

निलम्बन अवधिभर बैठा र कुशवाहालाई पार्टीले प्रदान गरेका सम्पूर्ण जिम्मेवारी तथा पदबाट मुक्त गरिएको छ। साथै, निलम्बन अवधिमा पार्टीको नीति, सिद्धान्त, विधान र निर्णयहरूको पूर्ण पालना गर्दै अनुशासन प्रति गम्भीर र जिम्मेवार रहन उनीहरूलाई निर्देशन दिइएको छ।

Leave A Reply

Your email address will not be published.